Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • पुनर्निर्माणबारे राष्ट्रपतिको चासो, दुई मन्त्रीसँग लिए ब्रिफिङ


    बुधबार, भाद्र २४ २०८३
    25
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्।

    बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतलनिवासमा छुट्टाछुट्टै भेट गरेर ब्रिफिङ लिएका हुन्।

    पौडेलले तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

    उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिएका छन्।

    साथै पौडेलले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए।

    राष्ट्रपति पौडेलले सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका छन्।

    उनले आफूले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

    राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार