Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • सरकारले माग्यो अन्तर्राष्ट्रिय समुदायसँग उद्धारका लागि थप उपकरण


    सोमबार, भाद्र २२ २०८३
    25
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्दारका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ ।

    जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोका कारण उद्दार टोली पुग्न नसकेका स्थानमा खोजी गर्न सरकारले विदेशी नियोग र मित्रराष्ट्रहरूसँग सहयोग मागेको हो ।

    प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरको माग गरेको छ ।

    त्यस्तै बाक्लो लेदो र जलविद्युत् आयोजनाका सुरुङमा पसेर सुरक्षित उद्धार गर्न प्रयोग गरिने विशेष पोसाक अर्थात् मड÷टनेल रेस्क्यु सुट पनि माग गरेको छ ।

    डुबानमा परेका क्षेत्र र सुरुङभित्र जमेको पानी तथा लेदो तत्काल बाहिर फाल्न उच्च क्षमताका पम्प पनि माग गरिएको छ । त्यसैगरी, बाढीले बगाएका पुलहरूको स्थानमा तत्काल जडान गरी सडक सञ्जाल सुचारु गर्न बेली ब्रिजहरू, डीएनए परीक्षण किट र ल्याब फ्रिजर पनि माग गरिएको छ ।

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग महामारी रोकथामका सामग्री पनि माग गरेको छ । विपद्पछि प्रभावित क्षेत्रमा फैलिन सक्ने सरुवा रोग र महामारी नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सकीय तथा स्वास्थ्य सामग्री सरकारले माग गरेको हो ।

    सुरुङभित्र अझै मानिसहरू फसेको र बाक्लो लेदोका कारण म्यानुअल उद्धारमा सुरक्षा जोखिम बढेकाले ‘टनेल रेस्क्यु सुट’ र ‘लाइडर’ प्रविधि नेपालका लागि तत्काल अत्यावश्यक बनेको मन्त्रालयले जनाएको छ । यी उपकरण प्राप्त भएमा बेपत्ताहरूको खोजी, उद्धार र पहिचान कार्य निकै छिटो र प्रभावकारी हुने सरकारको विश्वास छ ।

    सुरुङभित्र फसेकाहरूको उद्धार गर्न पाँच देशका विशेषज्ञ टिम परिचालन गरिएको छ । सरकारले नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार