Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • नेपालफेसको समाचारप्रति ब्यवसायी बराइलीको आपत्ति, भन्छन्– नियमअनुसार काम गरेको छु


    आइतबार, भाद्र ७ २०८३
    4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • नेपालफेस अनलाइन मिडियामा २०८३ साल भदौ ५ गते प्रकाशित समाचारप्रति निक भुजीकिक हाउजिङ कम्पनी तथा काक्राबारी जग्गा विकास आयोजना, भक्तपुरका संचालक ब्यवसायी डिल्लीध्वज बराइलीले खण्डन गरेका छन् ।

    उनको खण्डनमा उल्लेख छ–मेरो तथा म सम्बद्ध संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा म र म संलग्न व्यवसायलाई जोडेर प्रेषित गरिएका भ्रामक, अतिरञ्जित र कपोलकल्पित दाबीहरूप्रति घोर आपत्ति जनाउँदै यो खण्डन वक्तव्य जारी गर्दछु ।

    १. कर्मचारी सरुवा–बढुवा र ‘बिचौलिया’ सम्बन्धी दाबीको खण्डनः

    भक्तपुर नापी कार्यालयका प्रमुख पूर्णप्रसाद पाण्डेलाई कार्यालय प्रमुख बनाएर ल्याउन मेरो संलग्नता रहेको र त्यसबापत आधा करोड रुपैयाँ लगानी गरिएको भन्ने भनाइ सतप्रतिशत झुटा, मनगढन्ते र कपोलकल्पित हो । प्रचलित नियम–कानुनको पालना गरी इमानदारपूर्वक व्यवसाय गरिरहेको व्यवसायीलाई बिचौलियाको संज्ञा दिई चरित्रहत्या गर्ने उद्देश्यले यस्ता भ्रामक खबर फैलाइएको छ । यस विषयमा ममाथि लगाइएका आरोप तथ्य र प्रमाणसहित पुष्टि गर्न म खुला चुनौती दिन्छु ।

    २. ‘कार्यालय आवतजावत’ र ‘लगानी’ सम्बन्धी भ्रामक प्रचारको खण्डनः

    नापी प्रमुख पूर्णप्रसाद पाण्डे मेरो कार्यालयमा आउने–जाने गरेको तथा मेरो व्यवसायमा निजको लगानी रहेको भन्ने कुरा हास्यास्पद छ । पाण्डे भक्तपुर नापी कार्यालय प्रमुख भई आएपश्चात् आजका दिनसम्म मेरो कार्यालयमा छिर्नुभएको छैन । मेरो कार्यालय परिसर सिसी क्यामेरा (सीसीटीभी) को निगरानीमा रहेकाले जो–कसैले पनि रेकर्ड हेरेर यसको सत्यता जाँच गर्न सक्नुहुनेछ । साथै, नापी वा मालपोत कार्यालयका कुनै पनि कर्मचारीको म वा मेरो कम्पनीमा कुनै किसिमको लगानी नरहेको स्पष्ट पार्न चाहन्छु ।

    ३. राजनीतिक निष्ठा र पार्टी जोडेर गरिएको दुष्प्रचार :

    म नेकपा (एमाले) को पूर्णकालीन र इमानदार कार्यकर्ता हुँ । तर, व्यवसाय गर्नु र पार्टीमा लाग्नुलाई अपराधका रूपमा चित्रण गर्दै म सम्बद्ध राजनीतिक दललाई समेत जोडेर बदनाम गराउने कुत्सित मनसायका साथ यो समाचार तयार पारिएको देखिन्छ । नेपालको कानुनअनुसार मर्यादित व्यवसाय गर्न पाउने नागरिकको मौलिक हकमाथि प्रहार गर्दै गरिएको यो दुष्प्रचारप्रति खेद व्यक्त गर्दछु ।

    ४. काक्राबारी जग्गा विकास आयोजना सम्बन्धी तथ्यगत स्पष्टोक्ति :

    विगत १२ वर्षदेखि ‘निक भुजीकिक हाउजिङ कम्पनी’ मार्फत् हामीले भक्तपुरका पलासे, सिपाडोललगायतका क्षेत्रमा व्यवस्थित बस्ती विकासका आयोजनाहरू सफलताका साथ सम्पन्न गरिसकेका छौँ । विकासका दृष्टिकोणले पछाडि परेको काक्राबारी क्षेत्रमा पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमार्फत् राज्यको शून्य प्रतिशत लगानीमा व्यवस्थित बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।

    कानुनी प्रक्रिया : आयोजना सञ्चालन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आईई) माटो परीक्षण(सोयल टेष्ट) तथा हाइड्रोलोजिकल रिपोर्ट तयार पारी वडा कार्यालय, नगरपालिका, नापी कार्यालय, जिल्ला वन कार्यालय र काठमाडौँ उपत्यका विकास प्राधिकरणमा आवश्यक सम्पूर्ण कागजात पेस गरिएको छ ।

    स्वीकृति प्रक्रिया : प्राधिकरणको केन्द्रीय कार्यालयमा स्वीकृतिका लागि फाइल पेस भइसकेको र अदालतबाट समेत आवश्यक प्रक्रियागत फैसला भइसकेको अवस्थामा तथ्यलाई तोडमोड गरी विकास निर्माण रोक्ने नियतले जनप्रतिनिधि तथा मिडियामार्फत् भ्रम फैलाइएको छ ।

    हाम्रो अपिलः

    तथ्य र प्रमाणबिना कपोलकल्पित आधारमा एउटा इमानदार व्यवसायी र आयोजनाको चरित्रहत्या गर्ने, सरकारी सम्पत्ति दोहन र ‘भू–माफिया’ जस्ता भ्रामक शब्द प्रयोग गरी निरुत्साहित गर्ने कार्य तत्काल रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै, आम नागरिकलाई सुसूचित गराउने जिम्मेवार पत्रकारिताको गरिमा जोगाउन र तथ्य जाँच नगरी समाचार सम्प्रेषण नगर्न पत्रकार मित्रहरूमा हार्दिक अनुरोध गर्दछु ।

    डिल्लीध्वज बराइली
    संचालक र व्यवसायी
    निक भुजीकिक हाउजिङ कम्पनी तथा काक्राबारी जग्गा विकास आयोजना, भक्तपुर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार