Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • हामीले सम्पत्ति विवरण बुझाइसकेका छौं, अनुसन्धानका लागि सहयोग गर्नेछौं : गंगा दाहाल


    बिहिबार, भाद्र ४ २०८३
    30
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि आफू र आफ्नो परिवार सदैव तयार रहेको बताएकी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाका स्वकीय सचिवालयमा कार्यरत रहेका गंगा दाहाल, राजेश बज्राचार्य र भानु देउवाको सम्पत्ति छानबिन गरिरहेको समाचार आइरहेका छन् । यसरी समाचार आएपछि गंगा दाहालले बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? भन्ने प्रश्न गरेकी छन् । यस्ता अफवाह कुन उद्देश्यका साथ फैलाइन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेकी छन्–

    नमस्कार,
    समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढंगले बित्यो । भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रुपमै सुन्नुपर्दा दुःख लागेको छ र गम्भीर ध्यानाकर्षण पनि भएको छ ।

    केही समयअघिसम्म चर्कोे स्वरमा भनियो, ‘फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति–कति सबै यिनीहरूकै हुन्’ हामी चुप बस्यौँ, लाग्यो ‘नजाने गाउँको बाटै नसोध्नु ।’

    तर अब बोल्नैपर्ने भयो । राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला १ कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ । म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ? हेक्का रहोस् सत्य अन्ततः सत्य नै हुन्छ ।

    मैले पटक–पटक भनिरहेकी छु, हामीले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौँ । तर फेरि पनि बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? कुन उद्देश्यका साथ फैलाइन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

    हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ । हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यही नै हाम्रो स्कुलिङ हो । आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त ? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु । म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु ।

    हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलिका दिनमा पनि हुनेछैन । म फेरि पनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौं ।

    सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं । तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन । यी सबै खाले आरोप म अस्वीकार गर्दछु ।
    म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार