Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ज्ञानेन्द्र शाहीको प्रश्न : जनताले ग्याँस लुकाएको भए सिलिन्डर कहाँबाट आयो ?


    आइतबार, साउन ३१ २०८३
    330
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले ग्याँस खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसको चर्को आलोचना भइरहेको छ ।

    विगत १ महिनादेखि सरकारले ग्याँस आपूर्ति सहज गर्न सकेको छैन । बजारमा ग्याँसको हाहाकार छ । तर सरकारले ग्याँस आपूर्ति सहज गर्नुको साटो उपभोक्तासँग नागरिकता र वा परिचयपत्र लिएर मात्र ग्याँस दिने सूचना जारी गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि ग्याँस लिनका लागि नागरिकता वा परिचयपत्र अनिवार्य गरिएकोमा ब्यंग गर्दै नागरिकले ग्याँस कहाँ लुकाएर राखेका छन् भनेर प्रश्न गरेका छन् ।

    शाहीले भने– ‘ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरेको भनेर सोध्दा सरकार भन्छ– नागरिकहरूले ग्यास लुकाए । हे सरकार, नागरिकले ग्यास कहाँ लुकाए ?’

    उनले सरकारको दाबीप्रति व्यंग्य गर्दै नागरिकले ग्यास पानीको गाग्रो, पानीको ड्रम, पानीको ट्यांकी वा भकारीमा लुकाएको हो कि भन्दै प्रश्न गरे । जमिनमा खाल्डो खनेर ग्यास सिलिन्डर गाडेर लुकाएको हो कि भन्दै उनले सरकारलाई कटाक्षसमेत गरे ।

    शाहीले ग्यास लुकाउन नागरिकसँग पहिले सिलिन्डर हुनुपर्ने भन्दै अहिले अधिकांश सिलिन्डर ग्यासका लागि लाइनमा रहेको दाबी गरे । ‘ग्यास लुकाउनका लागि त नागरिकसँग पहिले सिलिन्डर हुनुपर्‍यो नि ! सिलिन्डरहरू त सबै लाइनमा छन्,’ उनले भने ।

    ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला सरकारले अत्यावश्यक उपभोक्तालाई लक्षित गरी विभिन्न बिक्री केन्द्रबाट नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा ग्यास बिक्री गर्ने व्यवस्था गरेको छ ।

    यही व्यवस्थालाई लिएर शाहीले सरकारको तर्क र आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाएका हुन् । उनको अभिव्यक्तिले ग्यास अभावका कारण उपभोक्ताले भोगिरहेको समस्या र सरकारले अपनाएको वितरण प्रणालीमाथि राजनीतिक बहस थप चर्किएको छ । सरकारले शनिबारदेखि काठमाडौंमा बिभिन्न स्थानमा प्रशासनको सहयोगमा ग्याँस बितरण गरे पनि अभाव हट्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार