जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएकाे छ।
बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित त्यसतर्फ प्रस्थान गरेको छ ।
घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । सातै जनाको नाम पनि मिलिसकेको छ र उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएकाे छ ।
बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।