Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात बालिका सम्पर्कविहीन, अपहरणको आशंका


    बुधबार, चैत्र १८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका/किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ।

    मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो।

    धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन छन्।

    सम्पर्कविहीन सातै जनाको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरिरहेका छन्।

    अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले उनीहरु ललाइफकाइमा परेर अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

    सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

    सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ। ‘सबै खुसीसाथ नै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो’, अस्मिताका पिता बद्री पासवानले भने, ‘घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन।’

    सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन्। तीमध्ये नगिना; कृष्णा पासवान, सीमा; देवनन्दन पासवान, ज्योति; बिसुन पासवान, रिया; ज्ञानकुमार पासवान र रचना; अरविन्द पासवानका छोरी भएको खुलेको छ।

    सात जना एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी छ।

    हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ।

    ‘घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी। त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न’ उनले भने।

    धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीको खोजी गरिदिन आग्रह गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार