Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • ओलीको संरक्षणमा चार बर्षसम्म एडीवीमा रजगज गरेका ढकाललाई सडक विभागको डीजी बनाउँदै बालेन सरकार


    मंगलबार, साउन १२ २०८३
    5K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को विद्यार्थी संगठन अखिलको केन्द्रीय सदस्य भएको नाता जोड्दै चार बर्षसम्म सडक विभागको सबैभन्दा आकर्षक ठाउँ एशियाली बिकास बैंक(एडीबी) सडक निर्देशनालयमा बसेका र करोडौं अनियमितताको आरोप लागेका चुडाराज ढकाल वालेन्द्र शाह सरकारमा उल्टै पुरस्कृत हुन दौडधुप गरिरहेका छन् ।स्रोतका अनुसार सडक विभागको महानिर्देशक हुन उनले दौडधुप सुरु गरेका छन् । डा. विजय जैशी सडक विभागको महानिर्देशक भएको दुई बर्ष पूरा भएको छ ।

    सामान्यतया २ बर्ष कायम रहनेमा जैशी केहीभित्र पर्दछन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जैशीलाई मन्त्रालयमा सरुवा गरी सडक बिभागमा महानिर्देशकको खोजी गरिरहेका छन् ।

    वर्तमान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल २०६८ सालतिर एमालेका कार्यकता थिए । त्यतिबेला उनी रुपन्देही भलबारीस्थित लुम्बिनी इञ्जिनियरिङ कलेजमा एमालेनिकट अखिलबाट स्ववियुको अध्यक्ष भएका थिए । त्यो बेलाको नाता यतिबेला चुडाले जोड्न खोजिरहेका छन् । किनभने चुडा पनि त्यो समयमा एमाले अखिलका केन्द्रीय सदस्य थिए ।

    प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला पनि चुडाले त्यही नाता जोडेका थिए । पूर्वाधार विकास मन्त्री जुन पार्टीका हुन्छन्, चुडा त्यही पार्टीको निकट हुने गरेको आरोप छ । त्यसैले उनीमाथि राजनीतिक संरक्षण हुने गरेको छ । यसको फाइदा उठाउँदै उनी विगत चार बर्षदेखि पूर्वाधार विकास मन्त्रालयको सबैभन्दा आकर्षक कार्यालयमा मात्र बसेका छैनन्, त्यही कार्यालमया बसेर खुलेआम अनियमता गर्ने गरेका छन्, तैपनि उनीमाथि कारबाही हुन सकेको छैन । जो सरकार आए पनि उनी उल्टै पुरस्कृत हुने गरेका छन् ।

    बालेन सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलताको सिद्धान्त अपनाएको देखिन्छ । तर चुडा विभागको महानिर्देशक भए भने यो सिद्धान्तको धज्जी उड्ने निश्चित छ । चुडा पूर्वाधार विकास मन्त्रालयमा कनिष्ठ सहसचिव हुन् । वरिष्ठ सहसचिवहरुलाई पन्छाएर विभागको महानिर्देशक पदमा नियुक्त पाउने दौडमा उनी लागेका छन् ।

    चुडाभन्दा बरिष्ठ दुई सहसचिवभन्दा उमेशविन्दु श्रेष्ठ यही भदौबाट अवकाश पाउँदैछन् भने प्रभात झाले राजीनामा गरिसकेका छन् । यसको फाइदा उठाउँदै चुडा महानिर्देशक हुने दौडमा लागेका हुन् । चुडाभन्दा भीमार्जुन अधिकारी, सुशीलबाबु ढकाल, रामहरि पोखरेल, ललिजन खनाललगायतका सहसचिव सिनियर हुन् ।

    सबैभन्दा वरिष्ठ सहसचिव भएर पनि भीमार्जुन अधिकारीले डीजी बन्ने मौका पाएका छैनन् । भीमार्जुनलाई एकपटक पनि डीजी बन्ने मौका नदिएर चुडा डीजी बन्ने दौडमा लागेका छन् । चुडालाई बुझेका एक कर्मचारी भन्छन्–‘पावर सेटिङ गर्न, राजनीतिक लाइन मिलाउन उहाँ धेरै नै अगाडि हुनुहुन्छ । त्यसैले उहाँले सधंैजसो अवसर पाउने गर्नुहुन्छ ।’

    स्रोत भन्छ– नारायणघाट—बुटवल सडक खण्ड स्तरोन्नतिको काममा उनले २५ करोडभन्दा बढी कमिसन बुझेको आरोप लाग्ने गरेको छ । अहिले उक्त सडक निर्माणको काम करिब–करिब पूरा भएको छ । यो सडक लामो समयसम्म स्तरोन्नति नहँुदा स्थानीय जनता तथा यात्रुले निकै ठूलो सास्ती खेपेका थिए ।

    मुलुकको अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको थियो । त्यतिबेला अर्थ मन्त्रालयमार्फत् स्वीकृत हुने निर्माण सामग्री तथा उपकरणको सूची सम्झौता शर्तविपरीत परिवर्तन गरिएको थियो ।

    स्रोत भन्छ– त्यतिबेला सूची संशोधनमार्फत् चिनियाँ कम्पनी (चाइना स्टेट कम्पनी)लाई एक अर्ब रुपैयाँभन्दा बढी थप लाभ गराइएको थियो । यसबापत चुडाले आकर्षक कमिसन बुझेको आरोप लाग्दैआएको छ । लाभ भएकोमध्येबाट ३० प्रतिशत कमिसनमा बाँडचुड भएको स्रोतको दाबी छ । त्यतिबेला उनी पटक–पटक चीन भ्रमणमा पनि गएको अभिलेख हेरेमा पुष्टि हुने छ ।

    एडीबीको ऋण अनुदानबाट निर्माण भएको मुग्लिन–पोखरा र काँकडभिट्टा–कञ्चनपुर सडक आयोजनामा समेत ढुङ्गा, गिट्टी र बालुवा आपूर्तिमा करोडौं रुपैयाँ बराबरको राजस्व छली गरिएको स्रोतको भनाइ छ । सहजीकरणको नाममा ढकालले स्थानीय तहका केही जनप्रतिनिधिसँग मिलेमतो गरेका थिए । त्यसमा पनि उनले लाभ लिएको आरोप लागेको थियो ।

    ढकालले यतिसम्म अनियमितता गरेका छन् कि, मुग्लिन–पोखरा सडकमा विद्युत पोल सार्ने क्रममा नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा फेरि प्रयोग गर्न मिल्ने पोल र तारमा समेत नयाँ खरिद देखाएर राज्यको खर्च बढाएका छन् । यसमा पनि उनले कमिसन बुझेका छन् ।

    आफूले लिएको कमिसन मन्त्री र सचिवलाई समेत बुझाउनुपर्छ भन्ने गरेका छन् । यसको ज्वलस्त उदाहरण हो, केही बर्षअघि मन्त्रालयमा चर्चित भएको अडियो प्रकरण ।
    परामर्शदाता कम्पनी इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी) का प्रतिनिधि उद्धव चौलागाईंसँग ५ करोड रुपैयाँ मागिएको अडियो प्रकरण त्यतिबेला मन्त्रालयमा चर्चाको विषय बनेको थियो । यो विषयमा अहिले पनि पूर्वाधार विकास मन्त्रालयका उच्च कर्मचारीहरु जानकार छन् ।

    त्यस अडियोमा उनले पूर्व प्रधानमन्त्री माधव नेपाल, तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मा लगायतलाई कमिसन बुझाउनुपर्छ भनेको सुनिन्छ । उक्त अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो । जिल्लाबासी र पार्टीको नाता जोडेर अख्तियारसम्म ढकालले यो विषय मिलाएका थिए । स्रोत भन्छ, राष्ट्रिय गौरवका आयोजनालई ढकालले कमिसनको माध्यम बनाउने गरेका छन् ।

    कर्मचारी सरुवामा समेत उनले आफ्नो इन्ट्रेस्ट देखाउने गरेको आरोप छ । एडीबीको ऋण अनुदानमा स्तरोन्नति भएका सडक आयोजनाहरुमा उनले नियमविपरीत आफू निकट कर्मचारीलाई सरुवा गर्ने गरेका छन् । आफूनिकट केही कर्मचारीहरुलाई उनले लामो समयदेखि पुरानै कार्यालयमा राख्ने गरेका छन् ।

    महानिर्देशकको दौडमा लाग्नुभएको हो र भन्ने नेपालफेसको प्रश्नमा एडीबी सडक निर्देशनालयका प्रमुख ढकालले भने–‘म महानिर्देशकको दौडमा छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार