Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगी र मिटरब्याजीसँग सम्पत्ति शुद्धिकरणका हाकिमहरुको साँठगाँठ 


    मंगलबार, चैत्र १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग उजुरीमा मोलतोल गर्ने अड्डामा सीमित छ । मेडिकल कलेज संचालकहरु खुमाप्रसाद अर्याल, सुनिल शर्मा र स्रोत नखुलेको अरबौं सम्पत्ति परिचालन गर्दैआएका अजयराज सुमार्गी, राजेन्द्र बजगाईबिरुद्धका उजुरी विभागका घर्रामा हालेर राखिएको छ । २०६८ मा विभाग स्थापनादेखि नै कार्यरत राजस्व समूहका उपसचिव विनोद लामिछानेले ९ बर्षसम्म उजुरीमा मोलतोल गरी अकूत सम्पत्ति आर्जन गर्नेदेखि विश्वका सबै देश सयर गरी गत असोजमा करदाता सेवा कार्यालयमा सरुवा भएका थिए । लामिछानेमात्र होइन, विभागमा ५बर्षदेखि कार्यरत केही प्रहरी र निजामती सेवाका कर्मचारीका कारण विभागमा उजुरीदेखि मुद्दा दर्ता गर्दा समेत चलखेल हुुने गरेको छ ।  

    उजुरीमा विस्तृत छानबिनमा परेका ब्यक्ति वा संस्थाको सम्पत्ति रोक्का राख्नुपर्नेमा नराखी बिक्री गर्न छुट दिएर विभागका केही कर्मचारीले लाभ लिएको तथ्य खुलेको छ । तारकेश्वर यातायात प्रालि र नागार्जुन भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यातायात व्यवसायी रामबहादुर लामा दम्पतीले ठगी र मिटर ब्याजबाट अरब रुपैयाँ बराबरको सम्पत्ति जम्मा गरेका थिए । उनले मिटरब्याज र ठगीको रकम बैंकमा राखेका थिए । विभागले उनको बैंकखाता रोक्का नराखी उक्त रकम निकाल्न दिएको थियो । विभागका अनुसन्धान अधिकृतले लाभ लिएर बैंकखाता रोक्का नराखी रकम निकाल्न छुट दिएको स्रोतले बताएको छ ।

    लामाका बिरुद्ध मिटरब्याज र ठगीका धेरै उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले लामालाई पक्राउ गरी मुद्दा चलाएर सम्पत्ति शुद्धिकरणमा पनि छानबिनका लागि पठाएको थियो । अनुसन्धान सुरु भइसकेपछि विभागले लामाको बैंकखाता रोक्का राख्नुपर्ने हो । तर बैंकखाता रोक्का नराखी लामालाई ठूलो हिस्सा रकम निकाल्न छुट दिइएको थियो । लामाले रकम निकालिसकेपछि विभागले उनीबिरुद्ध ७ करोड १२ लाख २१ हजार र उनकी श्रीमती कान्छी लामाविरुद्ध ६९ लाख पाँच हजार रुपैयाँ बिगो कायम गरी १२ चैत २०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    लामाको अनुसन्धान सकेर १ महिनाअघि नै मुद्दा बुझाउनुपर्ने विभाग स्रोत बताउँछ । महानगरीय प्रहरी परिसर, काठमाडौंले लामालाई गएको वैशाखमा ठगी अभियोगमा पक्राउ गरेको थियो । उनी ठगी मुद्दामा अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको थियो । छानबिन थालेको ११ महिनासम्म सबै रकम बैंकबाट निकाल्न दिइयो । र,  इन्स्पेक्टर मडै र अधिकृत रेग्मीले लामाबाट लाभ लिएर मुद्दा पनि कमजोर बनाएर दर्ता गरेका छन् । अनुसन्धान सुरु गरिसकेपछि लामालाई बीसौं करोड हाराहारी रकम बैंकबाट निकाल्न दिइएकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता सुशील आचार्यले भने–‘यो सबै गलत कुरा हो । बढी हल्ला आउँछ । छानबिन भएपछि बैंकबाट निकालेको छैन, निकालेको भए पनि रेकर्ड आइहाल्छ । रामबहादुर लामाले जति अपराध गरेको छ, त्यति बिगो माग गरी मुद्दा दायर गरिएको छ ।’  

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दरबन्दी भए पनि इन्स्पेक्टर मडै ५ बर्षदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत छन् । जबकि इन्स्पेक्टरको सरुवा बढीमा २ बर्षमा हुने गर्दछ । उनको सरुवा एक पटक सुदूरपश्चिम प्रदेशमा भए पनि यसअघिका महानिर्देशक रुपनारायण भट्टराईले उनलाई रोकेर राखेका थिए । उजुरीमा मोलतोल गर्ने र माथिसम्म मिलाउन जानेकैले भट्टराईले विभागलाई चाहिन्छ भनेर उनलाई रोकेका थिए । भट्टराई महानिर्देशक हुँदा मडैले उजुरीमा मोलतोल गरी रिझाएका कारण उनलाई विभागमै राख्ने काम भट्टराईले गरेका थिए ।

    सम्पत्ति शुद्धिकरणमा बसी उजुरीमा मोलतोल गरी मडैले टोखाको ग्रान्डी हस्पिटलपछाडि भब्य बंगला निर्माण गरिरहेको विभाग स्रोतको दाबी छ । उक्त घर निर्माण मिटरब्याज र ठगीमा संलग्न रामबहादुर लामाले नै बनाइदिने गरी उनको अनुसन्धान सुरु गरिसकेपछि पनि बैंकखाता रोक्का नराखी रकम झिक्न दिएको स्रोत बताउँछ । स्रोतका अनुसार घर नै निर्माण गरिदिने प्रस्ताव गरेपछि लामा बिरुद्ध विशेष अदालतमा कमजोर बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ । इन्स्पेक्टर मडै पूर्वएआइजी रणबहादुर चन्दका विश्वासपात्र थिए । चन्द जहाँ जहाँ गए, कार्यदल, अपराध महाशाखा त्यहाँ त्यहाँ सँगै लगेका थिए ।

    हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी पूजा सिंह काभ्रेको एसपी हुँदा पनि मडै मुद्दा फाँटमा बसेका हुन् । यस्तो आरोपका बारेमा इन्स्पेक्टर मडैले भने–लामाको सम्पत्ति प्रहरी परिसर काठमाडौंले नै रोक्का राखेको थियो । १० लाख धरौटीमा प्रहरी थुनाबाट मुक्त भएपछि सम्पत्ति शुद्धिकरणले अनुसन्धान गरेको हो । आफूलाई घर बनाइदिएको कुरा नितान्त गलत कुरा हो । सम्पत्ति शुद्धिकरणमा आफू तीन बर्षमात्र कार्यरत रहेको र अख्तियारमा दरबन्दी भएको उनले स्वीकार गरेका छन् । सुदूरपश्चिममा सरुवा भए पनि नगएकोबारेमा उनले भने–‘मेरो श्रीमतीको मुुटुको अप्रेसन गर्नुपरेकाले काजमा विभागमा बसेको हुँ ।’  

    मिटरब्याज र ठगीमा संलग्न लामाले बस बेच्ने बताउँदै पेस्की लिने र पछि रकम फिर्ता नगरी गाडी पनि कब्जा गर्ने गरेको अभियोग छ । बिक्री गर्ने बताउँदै गाडी चलाउन दिने, आफैँले चर्को ब्याजदरमा ऋण दिने र ऋण चुक्ता भएन भनेर गाडी फिर्ता लिने गर्थे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार