Nepal Face
  • शनिबार, २४ असोज २०८३
  • ओलीका भित्रिया नवीनराज बस्नेत पक्राउ, कुमार बेनसँग पनि थियो बाक्लो उठबस


    शनिबार, असोज २४ २०८३
    3.6K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार राति भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । १३ बर्षअघिको रक्तचन्दन मुद्दामा उनलाई पक्राउ गरिएको सीआईबीले बताउँदैआएको छ ।

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएकाले बुधबार मात्रै उनको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले छापा मारेको थियो । तसर्थ पक्राउ पर्नुको कारण रक्तचन्दनको पुरानो मुद्दा मात्र नभएर चोलेन्द्रशमशेर र उनका भाइ प्रभुसँगको नेक्ससले पनि काम गरेको स्रोत बताउँछ । बुधबार बस्नेतसहित चोलेन्द्रका भाइ प्रभु र पूर्व न्यायाधीश नवराज थपलियाको निवासमा समेत छापा मारिएको थियो ।

    अनुसन्धानका क्रममा बस्नेत १३ बर्ष पहिले (९ वैशाख २०७० साल) भएको रक्तचन्दन तस्करीका फरार व्यक्ति रहेको खुलेपछि उनलाई पक्राउ गरिएको खुलेको छ । १३ वर्षपछि अहिले ठेगाना खुलेको भनिएका बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट रहेर काम गरेका ठेकेदार हुन् ।

    कसरी दिइएको थियो बस्नेतलाई उन्मुक्ति ?

    १८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर गुह्येश्वरीबाट क्षेत्रबाट भक्क्तपुरतर्फ लैजाँदै गरिएको रक्तचन्दन जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको थियो । । रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ पर्छन् । मोटरसाइकलबाट रक्तचन्दन बोकेको मिनीट्रकको अघिपछि गर्दै गइरहेका थिए । उक्त रक्तचन्दनका मालिक थिए, नवीनराज बस्नेत ।

    काठमाडौं प्रहरी परिसर (तत्कालीन महानगरीय प्रहरी परिसर, काठमाडौं) प्रमुख थिए, राजेन्द्र श्रेष्ठ । नेकपा (एमाले) महेश बस्नेतमार्फत् रक्तचन्दनका मालिक नवीनराज बस्नेतलाई जोगाउने खेल हुन्छ । नवीनराज बस्नेत प्रहरीका परिसर प्रमुख राजेन्द्र श्रेष्ठकहाँ पुग्छन् । जिल्ला वन कार्यालयमार्फत् सुनुवार, सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर हुन्छ ।

    ९ वैशाख, ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गर्दै गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र ३ लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर ग¥यो । रक्तचन्दन तस्करीको घटनामा चालक र सहचालकलाई कैद र जरिवाना भयो । तर प्रहरीले नवीनराज बस्नेतको स्थायी ठेगाना नखुलेको प्रतिवेदन लैजान्छ । र, उनलाई उन्मुक्ति दिइन्छ । अहिले सीआईबीले त्यही रक्तचन्दन केसमा बस्नेतलाई पक्राउ गरेको बताएको छ ।

    बस्नेतलाई जहिल्यै छुट

    खासगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सत्तामा आएपछि उनले एकपछि अर्को सेटिङ गरेका थिए । हालका एमाले सचिव महेश बस्नेत र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका प्रिय भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग नजिकिएका थिए । बस्नेतले तीन बर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।

    यो पनि पढ्नुहोस् :
    बिचौलिया नवीन बस्नेत :पहिले ओली–महेशको आडमा उन्मुक्ति, अहिले बेनको नाममा चलखेल

    बस्नेत अहिले महेश बस्नेत, राजेश बज्राचार्यका व्यापारिक साझेदार हुन् । राजेशकी बहिनीको नाममा उनले मार्टसमेत खोलिदिएका थिए । बस्नेत ओलीका यति प्रिय हुन् कि क्षितिज थेवे(सांसद र युवासंघका पूर्वअध्यक्ष), युवासंघका पूर्वउपाध्यक्ष गोविन्द थापाभन्दा बढी महत्व बालकोटमा बस्नेतले पाउने गरेका थिए ।

    नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीले सबै विमानस्थलका अरबौं अरबका ठेक्का नवीन बस्नेतकै सेटिङमा दिने गरेका थिए । अधिकारी त अहिले एकपछि अर्को मुद्दा खेप्दै जेलमा छन् । प्रदीप अधिकारीका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दा सामसुम गराउँछु भनेर जिम्मा लिई सेटिङमा ठेक्का लिने गरेका थिए । प्रहरीको अनुसन्धानमा क्यानका तत्कालीन डीजी अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउने जिम्मा लिएको देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत् ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका थिए ।

    अख्तियार मिलाउने प्रयास असफल भएपछि बस्नेतले एकसाथ दुई वटा काम गरेका थिए । जसमा उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेमकुमार राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्ने । उग्रवादी संगठनको लेटरप्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्सएपमा पठाएको देखिन्छ । डीएफएल (डीजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको मोवाइल नम्बरबाट ह्वाट्स एपमार्फत् प्रदीप अधिकारीलाई पठाएको खुलेको छ ।

    उक्त फोटो ओरिजिनल पीडीएफ फाइलमा रहेको र पछि जेपीजी इमेजमा पीडीएफबाट एक्स्ट्र्याक्ट गरेको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् । यता, प्रहरीसँगको बयानमा भने बस्नेतले आफ्नै ह्वाट्स एपबाट पठाएको लेटर प्याडका बारेमा समेत थाहा नभएको जिकिर गर्दै बयान दिएका छन् ।

    यही लेटर हेडमार्फत् एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए ज्यान मार्ने धम्की पाठकले भिडियोमार्फत् नै दिएका थिए । यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत पाइएको छ । सुरुमा १० करोडबाट बार्गेनिङ भएको २ करोडमा कुराकानी मिलेपछि पाठक धम्की दिन तयार भएका थिए ।

    स्रोतका अनुसार २ करोड बस्नेतमार्फत् अधिकारीले पाठकलाई दिएका थिए । यी सबै तथ्यहरु भेटिदा समेत प्रहरीले बस्नेतलाई उच्चपदस्थलाई मार्ने धम्की दिएको मुद्दामा छुट दिएको थियो ।

    रास्वपा आएपछि बेनको नाममा चलखेल

    एकपछि अर्को मुद्दा र अपराधमा उन्मुक्ति पाउँदै आएको आरोप खेपिरहेका नवीनराज बस्नेतले पछिल्लो समय प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग आफ्नो कुरा मिलिसकेको दाबी गर्न थालेका छन । उनले बेनसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको दाबी गर्दै आफूनिकटका व्यक्तिहरूलाई कुनै चिन्ता लिनुनपर्ने बताउन थालेको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार बस्नेतले बेनसँग राम्रो सम्बन्ध भएको भन्दै केही ब्यक्तिहरुलाई बेनकोमा समेत लगेर भेट्टाएका थिए । त्यसो त बस्नेतले रास्वपाका सांसद दीपक बोहरालाई चुनावमा सहयोग गरेको र निकिता पौडेललाई पनि भेटेको दाबी गर्दैआएका थिए ।

    नवीन बस्नेतः बाणिज्य बिभागको आयात अनुमति नक्कली बनाउँथे

    नवीनराज बस्नेतले २०७० को दशकदेखि केराउ, पोस्तादाना र छोगडाको आयातको कोटा सेटिङमा लिने गरेका थिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट केराउ, पोस्तादाना र छोगडाको कोटा लिन बस्नेतमार्फत् नै जानुपर्ने बनाएका थिए । केपी ओली प्रधानमन्त्री हुँदा त बाणिज्य बिभागले बस्नेतमार्फत् मात्र आयातको कोटा दिने गरेको थियो । बाणिज्य बिभागको महानिर्देशकमा कुमारप्रसाद दाहाल आए । उनी आएपछि अनुमति नै नदिए पनि भन्सार कार्यालय बीरगंजबाट केराउ आयात भएको र क्वारेन्टाइनमा गएको सूचना पाए ।

    अनुमति नै नदिएको केराउ कसरी आयात भयो भन्ने बिषयमा जानकारी लिने क्रममा बीरगंज भन्सारमा महानिर्देशक दाहालकै कीर्ते हस्ताक्षर गरी कीर्ते अनुमति बनाएको पत्र फेलापारे । त्यसपछि उनले तत्कालै उक्त कीर्ते अनुमतिपत्रका आधारमा आयात भएको केराउसहित अरु केही सामान जफत गर्न भन्सार कार्यालयमा पत्राचार गरे । आयातकर्तालाई पक्राउ गरी थुन्न निर्देशन दिए ।

    बाणिज्य बिभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको कीर्ते हस्ताक्षर र विभागको नक्कली छापको प्रयोग गर्दै ५ हजार टन केराउ र काठमाडौं कुलेश्वरका व्यवसायी रमेशकुमार जलानले विभागका शाखा अधिकृत प्रह्लाद सापकोटाको कीर्ते हस्ताक्षर र विभागको नक्कली छाप प्रयोग गरी ५ हजार टन पोस्तादाना आयातको अनुमतिपत्र बनाएका थिए ।

    सत्यम् एग्रो र जलानले एसएस एन्ड सन्स नामको कम्पनीबाट आयात गर्नेगरी नक्कली अनुमतिपत्र तयार पारेको प्रमाण दाहालले फेलापारे । सत्यम् एग्रोका नामबाट ३० लाख मूल्यको ३० टन केराउ ल्याएपछि कीर्ते अनुमतिपत्र बनाउने अरु कोही नभएर नवीनराज बस्नेत नै भएको खुल्यो ।

    महानिर्देशक दाहालले कडा ढंगले कारबाही गर्ने भएपछि नवीनराज बस्नेतकै सेटिङमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई समावेशी आयोगमा सरुवा गरेका थिए । दाहालले पोस्तादाना र केराउको अनुमति नदिने भएपछि नवीन बस्नेतले कीर्ते आयात अनुमतिपत्र बनाएका थिए । बस्नेतले आफ्नी श्रीमतीको नाममा समेत कीर्ते आयात अनुमतिपत्र बनाएका थिए । तर ओलीकै दबाबमा उनलाई कीर्ते आयात अनुमतिपत्र बनाउने काण्डमा जोगाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार