काठमाडौं, २० बैशाख । सचिवालय बैठक अपराह्न ४ बजे तोकिएको भए पनि पुनः ५.३० बजेलाई सारिएको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्र आन्तरिक द्धन्द्ध यति बढेको छ कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको नेतृत्व र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब परेको छ । यस दबाबका बीच नेकपाका महासचिव बिष्णु पौडेल ओलीका पक्षमा खुलेर आएका छन् । उनले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने बताएका छन् । बिष्णु पौडेल नेकपाभित्र चाणक्यका रुपमा चिनिन्छन् । उनले उपाध्यक्ष वामदेव गौतमलाई कन्भिन्स गरेरमात्र आफ्नो अन्तर्वार्ता सार्वजनिक गरेको अर्थ नेकपा बृत्तमा लगाइएको छ । भैसेपाटी गठबन्धनमा भेला भएका पौडेल खुलेर ओलीको पक्षमा देखिएपछि नेकपाभित्रको राजनीतिले नयाँ मोड लिएको हो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, उपाध्यक्ष गौतमसहितका सचिवालय सदस्यहरु प्रधानमन्त्री ओलीको राजीनामा मागबाट टसको मस नभएको भनिरहेका छन् । तर महासचिव पौडेलले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने कुरामा विश्वस्त बनाएपछि ओलीले तत्काल दुवै पदबाट नछोड्ने कुरा सार्वजनिक गरेको चर्चा भइसकेको छ ।
बैशाख १७ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सबैलाई ‘सरप्राइज’ दिंदै गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । प्रधामन्त्रीमा प्रस्ताव गरेपछि गौतमले आफूनिकट कानुन ब्यवसायीसँग छलफल गरे । त्यसपछि आफूलाई साथ दिंदैआएका केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुसँग पनि उनले छलफल गरिसकेका छन् । र, सरकारका प्रभावशाली मन्त्रीद्धय घनश्याम भूसाल र योगेश भट्टराईसँग पनि उनले छलफल गरिसकेका छन् । गौतमलाई विगतका हरेक कदममा साथ दिएका सबैको सल्लाह प्रधानमन्त्रीको प्रस्ताव मानेर पार्टी फुटबाट जोगाउनुपर्ने भन्ने नै देखिएपछि उनी केही लचकदार भएका छन् ।
प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभाको सदस्यसम्म बनाउन नमानेपछि नेकपाभित्र विवाद सुरु भई अध्यादेश प्रकरणपछि बिष्फोट भएको थियो । तर प्रधानमन्त्री ओलीका निकट नेताहरु वामदेव गौतमलाई अब विगतमा जस्तो धोका नहुने ग्यारेन्टीका साथ फकाउन सक्रिय छन् । धादिङ, पाल्पा, बाँके लगायत कुनै पनि सुरक्षित क्षेत्रबाट गौतमलाई चुनाव लडाएर भए पनि प्रधानमन्त्री बनाउने ग्यारेन्टी गर्ने बचन दिएको स्रोतले बताएको छ । ओलीलाई अध्यक्षदेखि २ पटक प्रधानमन्त्री बनाए पनि गौतमलाई पटक पटक धोका दिएकोमा उनको चित्तदुखाई रहँदैआएको छ ।