Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिसडोलवासीका मागप्रति काठमाडौँ महानगर सकारात्मक, फोहोर विसर्जनमा अवरोध नगर्न आग्रह


    सोमबार, चैत्र १६ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले  काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ ।  

    काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाकर्षण भएको जानकारी दिएको हो । ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’

    विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपील गरिएको छ । ‘फोहोरमैला विसर्जन कार्यमा सहयोग गरिदिनु हुन फोहोरमैला प्रभावित स्थानीयवासीसँग काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ,’ ‘विज्ञप्तिमै भनिएको छ, ‘साथै उपत्यकावासीले आ–आफ्नो घर–पसल–कलकारखाना–व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाल्नुहुन अनुरोध छ ।

    काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोर पठाई फोहोर व्यवस्थापन कार्यमा सहयोग गरी कोभिड–१९ जोखिम न्युनिकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।

    ‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौँ । हाम्रो तर्फबाट उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौँ । शिक्षामन्त्रालय पनि उहाँहरुका माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत छ,’ काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले भने, ‘सिसडोलबासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । उहाँहरुले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार