Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क-कसले लगाउन पाउँछन् चीनबाट आएको खोप ?


    सोमबार, चैत्र १६ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपालले ८ लाख डोज प्राप्त गरेको हो । 

    चिनियाँ सरकारी कम्पनी सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् ।

    कोभिसिल्ड खोपझैं भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र भेरोसेल खोपको अर्को मात्रा लगाउनुपर्ने हुन्छ ।

    सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज खोप प्राप्त गरिसकेको छ ।

    यस्तै, चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ८ लाख डोज खोप पनि आइसकेको छ ।

    पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुका लागि खोप लगाइएको थियो ।

    पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई यो खोप लगाइयो । त्यसपछि पनि पटकपटक गरी हालसम्म करिब १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

    दुई डोज लगाउनुपर्ने कोभिसिल्ड खोप पहिलोपटक लगाएको ८ देखि १२ साताभित्र अर्को डोज लगाइदिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ गतेदेखि १४ गतेसम्म दिने भएको छ । 

    चैत ४ गतेदेखि ५५ देखि ६५ वर्ष उमेर समूहका मानिसलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप दिने भने पनि सरकारले  खोप अभाव देखाउँदै पछाडि हट्यो ।

    सोमबार चीनबाट प्राप्त भेरोसेल खोप कुन समूह र कस्ता व्यक्तिलाई लगाउने भन्नेबारे मन्त्रालयले अझै निर्णय गरिसकेको छैन । मन्त्रालयका अनुसार चिनियाँ खोप कुन वर्गलाई कसरी लगाउने भन्नेबारे चाँडै निर्णय गरिनेछ ।

    कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपभन्दा भेरोसेल खोप प्रभावकारी भएको विभिन्न अध्ययनहरूले देखाएको छ । कोभिसिल्ड खोप हाल नेपालले एजेन्टमार्फत खरिद गर्दा प्रतिडोज ६ डलर पर्न आउँछ भने भेरोसेल खोप झण्डै ५० डलर पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार