काठमाडौं। चीनले अनुदानमा दिने भनेको आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्दै छ ।
खोप लिनका लागि चार्टर विमान आइतबार साझ चीन गैसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताए पनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ ।
भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ । त्यसैगरी सरकारले सिरमसँग २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेको भएपनि १० लाख मात्र प्राप्त भएको छ ।
अनुदान तथा खरिद गरिएको खोप समेत गरेर हालसम्म प्राप्त जम्मा २३ लाख ४८ हजार डोज खोप मध्ये १६ लाख ७३ हजार डोज खोप प्रयोगमा आएको छ । त्यसैगरी ६ लाख ७४ हजार प्रयोगमा आउन बाँकी छ भने चिनियाँ अनुदानको ८ लाख डोज खोप आउन बाँकी रहेको छ ।