काठमाडौं । दुर्घटना रहित होली पर्व बनाउनका लागी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।
रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।
होली पर्वलाई लक्षित गर्दै उपत्यकाभर चेक प्वाइन्ट राखिएको विशेषगरि होली मनाउन उच्छृङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुँइक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकहरू उपर निगरानी बढाई कडाईका साथ कारबाही गरिएको स्रोतले बताएको छ ।
उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको बताए ।
महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ ।
यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।