Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सूर्यबिनायकमा कवाडीको ठेक्का : नागार्जुनमा अबैध कर असुली, रोशन चौधरीलाई प्रहरीकै साथ


    सोमबार, असार १५ २०८३
    2.2K
    Shares
    रोशन चौधरी, उनका कर्मचारीले सूर्यबिनायकको रसिद काटी नागार्जुनमा कर असुली गरेको रसिद र कर असुुल्ने चौधरीका कर्मचारी
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिकाको कवाडी कर संकलनको ठेक्का लिएर काठमाडौंको नागार्जुन नगरपालिकामा कर असुली गर्ने ठेकेदार कम्पनीको बारेमा सूचना दिंदा पनि प्रहरी बृत्त स्वयम्भूले चासो दिएन ।

    शनिबार रोशन चौधरीको टाइम एचिभनेस इन्टरप्रेजजले नागार्जुन नगरपालिकामा कवाडी कर असुलिरहेको र नियन्त्रणमा लिइदिन नगरपालिकाले नै प्रहरी बृत्त स्वयम्भूका इन्चार्ज डीएसपी मोहनमणि अधिकारीलाई अनुरोध गरेका थिए । तर डीएसपी अधिकारीले आफूहरुलाई कुनै मतलव नभएको जवाफ दिएपछि नगरपालिकाले सानोभर्याङस्थित धर्मकाँटा भएको स्थानमा लगे । र, गैरकानुनी रुपमा कवाडी कर असुली गरेको रसिदसहित भिडियो नै बनाएका थिए ।

    प्रहरीलाई खबर गर्दा मतलव नभएको जवाफ आएपछि नागार्जन नगरपालिका र स्थानीयले गैरकानुनी रुपमा कर असुली गर्ने टाइम एचिभनेस इन्टरप्राइजेजका कर्मचारीको भिडियो बनाएका थिए । नागार्जुन नगरपालिकाले गाडी समातेपछि गैरकानुनी कर असुलीका लागि रोशन चौधरीले पठाएका कर्मचारीलेसूर्यबिनायकको रसिद देखाएका थिए । जुन रसिद नेपालफेससँग सुरक्षित छ ।

    नागार्जुनस्थित सानो भर्याङमा रहेको धर्मकाँटामा लिइएको नागार्जुनभित्रको कवाडीको तौल । सानोभर्याङको धर्मकाँटामा तौल लिइसकेपछि रोशन चौधरीका कर्मचारीले गाडी रोकी कर असुली गरेका थिए

    सूर्यबिनायकको ठेक्का लिएको कम्पनीले नागार्जुनमा गैरकानुनी रुपमा कवाडी कर असुली गर्दा मतलव नभएको जवाफ दिने तिनै डीएसपी अधिकारीले असार १० गते निशान ट्रेडर्सलाई एकाध मिटर वरपर कर संकलन गर्दा पक्राउ गरेका थिए ।

    नागार्जुन नगरपालिकाको कवाडी करको ठेक्का पाएको निशान ट्रेडर्सले चक्रपथतर्फ स्वयम्भूमा कवाडी कर संकलन गरेको १०० मा फोन आएकै भरमा संचालकलाई नियन्त्रणमा लिएको बताउने डीएसपी अधिकारीले शनिबार बिहान सूर्यबिनायक नगरपालिकाको ठेक्का लिएर नागार्जुनमा जबर्जस्ती गाडी रोकेर कर असुली गरेको बिषयमा नगरपालिकाले फोन गर्दा पनि पन्छिनुले रोशन चौधरीको प्रहरीमा कति बलियो पकड छ भन्ने स्पष्ट पारेको छ । सूर्यविनायक नगरपालिकाको कवाडी करको ठेक्का लिएको टाइम एचिभनेस इन्टरप्राइजेजले नागार्जुन नगरपालिकामा आएर कवाडी कर असुल गरेकोे रसिदसमेत नेपालफेसलाई प्राप्त भएको छ ।

    रोशन चौधरीले धादिङको धुनिबेसी नगरपालिकाको मात्र कवाडी करको ठेक्का लिएर काठमाडौंबाट गएका प्रत्येक गाडीबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म असुली गर्दैआएका  छन् ।

    राजमार्गमा गुण्डा राखी उनले बल्खु र कलंकीमै धुनिबेसी नगरपालिकाको रसिद भिडाएर आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नको नाममा असुल्ने गरेका छन् । दैनिक सयौं कवाडी बोकेका गाडीसँग रोशन चौधरी र उनका बिभिन्न नामका कम्पनीले गैरकानुनी कवाडी कर असुल्दैआएका छन् । रोशन चौधरीले ललितपुर महानगरपालिकामा टेण्डर नै आह्वान हुन नदिई जबर्जस्ती कवाडी कर असुली गर्दैआएका छन् । जसका कारण ललिततपु महानगरलाई बार्षिक १६ करोड नोक्सान भइरहेको छ ।

    असार १० गते नागार्जुन नगरपालिकाको ठेक्का पाएको निशान ट्रेडर्सलाई केही मिटर वरपर कवाडी कर लिंदा १०० बाट गुनासो आएको भन्दै निकै तदारुकताका साथ स्वयंभू प्रहरीले पक्राउ गर्यो । तर शनिबार (असार १३ गते) सूर्यबिनायक नगरपालिकाको कवाडी करको ठेक्का लिएको रोशन चौधरीको टाइम एचिभनेस इन्टरप्राइजेजले नागार्जुनमा जबर्जस्ती गाडी रोकेर कवाडी कर असुलेको बिषयमा स्थानीयले गुनासो गर्दा स्वयम्भू बृत्तका डीएसपी अधिकारीले मतलब नभएको जवाफ दिएकोबारेमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले भने–त्यस्तो भनेको होइन होला ।

    तर, नागार्जुनको कर संकलनको ठेक्का पाएको कम्पनीलाई वल्लो १० मिटर यताउता भएकोमा १०० मा फोन आएको भनेर पक्राउ गर्ने प्रहरीले सूर्यबिनायकको ठेक्का लिएको कम्पनीलाई नागार्जुनमा आएर कर उठाउँदा चासो नै नदेखाएपछि रोशन चौधरीलाई साथ र सहयोग दिएको आशंकालाई थप पुष्टि गरेको छ ।

    काठमाडौं उपत्यकाका सबै पालिकाको कवाडी करको ठेक्का लाग्न नदिने, विवाद निम्त्याउने, अदालतमा मुद्दा हाल्ने र धादिङको धुनिबेसीको ठेक्का लिएर यताबाट गएका गाडीबाट गैरकानुनी रुपमा कर असुली गर्ने कार्य रोशन चौधरी र उनको परिवारले गर्दैआएको छ । अर्थमन्त्रालय, गृहमन्त्रालयदेखि सबै निकायको परिपत्र र निर्देशनसमेत रोशन चौधरीको घुसकै कारण लागू हुन सकेका छैनन् ।

    रोशन चौधरीले दैनिक ३० लाख गैरकानुनीरुपमा राजमार्गमा असुली गरिरहँदा पनि राज्यका निकाय उनलाई कानुनी कठघरामा ल्याउन सकिरहेको छैन । जेनजी आन्दोलनपछि पनि उनले न्यायालयदेखि सबैतिर उनको सेटिङ यथावत छ । शम्भु थापा, महेश थापा जस्ता बरिष्ठ कानुन ब्यवसायीहरु गैरकानुनी कर असुली गर्ने तिनै रोशन चौधरीलाई लागूऔषध कारोबारदेखि राजमार्गमा अवैध असुली जस्ता बिभिन्न काण्डमा उन्मुक्ति दिलाउन लामबद्ध हुने गरेका छन् ।

    रोशन चौधरीको टाइम एचिभनेस इन्टरप्राइजेजका कर्मचारी जसले नागार्जुनमा कर असुलेको भिडियोमा स्वीकारेका छन् :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार