Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजमार्गमा जवर्जस्ती कवाडी कर असुल्ने चौधरीलाई प्रहरीको साथ, ठेक्का लिएर कवाडी कर संकलन गर्दा पक्राउ


    शुक्रबार, असार १२ २०८३
    3.2K
    Shares
    अर्थ, गृह र संघीय मन्त्रालयले दिएको निर्देशन, भालेश्वरले कर असुली गरेको रसिद र रोशन चौधरी
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । भारतीय नागरिकले नेपालमा अपराधको सिन्डीकेट चलाउँदा नेपाल प्रहरीका केही अधिकृतले पनि त्यसलाई साथ दिएका छन् । बाबुनन कलवार चौधरी भारतीय नागरिक हुन् । उनले झुटा ब्यहोराका आधारमा नेपाली नागरिकता प्राप्त गरेउपर काठमाडौं प्रहरीले पक्राउ गरी रौतहट जिल्ला प्रहरी कार्यालयमा २०८२ चैतमा पठाएको थियो । हाल उनी तारिखमा रहेका छन् ।

    बाबुननका छोरा रोशन चौधरीलाई लागूऔषधको कारोबारको अभियोग लागेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोले २०८२ माघ १८ गते लागूऔषध कारोबारी रोशन चौधरीलाई नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गर्यो । तर लागूऔषधमा उनलाई पक्राउ पूर्जी नदिनू भनी काठमाडौं जिल्ला अदालतलाई उच्च अदालतका एक न्यायाधीशले आदेश दिएका थिए । तर रिट दर्ता हुनु १५ दिनअगाडि नै काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेका कारण चौधरी पक्राउ परेका थिए । लागूऔषध कारोबारमा पक्राउ परेका चौधरीलाई उच्च अदालत पाटनले नै अन्तरिम आदेश दिएकाले थुनामा जानबाट अहिलेसम्म रोकिएका छन् । लागूऔषध मुद्दामा सामान्यतया सबैलाई थुनामा पठाउने गरिन्छ ।

    न्यायाधीशलाई प्रभावमा पारी लागूऔषध मुद्दामा समेत चौधरीले पक्राउ परेकै भोलिपल्ट अन्तरिम आदेश लिएर थुनामुक्त गर्ने अन्तरिम आदेश लिएका थिए । भारतीय नागरिक जो अवैध रुपमा प्रहरीकै साथ र सहयोगमा दैनिक राजमार्गमा ३० लाख कवाडी कर असुली गर्दछन्, उनको न्यायालयमा कति पहुँच छ भन्ने लागूऔषध मुद्दामा समेत पक्राउ परेकै भोलिपल्ट अन्तरिम आदेश लिनुले नै पुष्टि गरेको छ ।

    प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश हुँदासम्म अदालतबाट जस्तासुकै आदेश गराउन सक्ने हैसियतमा रोशन चौधरी रहेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलसमेतको संयुक्त इजलासले कुनै पनि कवाडी बस्तुको कारोबार गर्ने ब्यवसायीले कुनै एक पालिकाबाट अनिवार्य रुपमा कवाडी कर तिरेको रसिद बोक्नुपर्ने अन्यथा बाटोमा भेटिने पहिलो पालिकाले कवाडी कर लिन पाउने फैसला गरेका थिए ।

    रोशन चौधरीले न्यायाधीश हरि फुयाँलको फैसलालाई सिरानीमा राखी काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाका कवाडी कर असुुलीका लागि गरिएका बोलपत्रलाई विवादित बनाई कुनै ठेक्का लाग्नबाट रोक्ने काम गर्दैआएका छन् । रोशन चौधरीले काठमाडौं उपत्यकाका प्रायः सबै पालिकामा कवाडीको ठेक्का लाग्न नदिदा मासिक दसौं करोड कर असुली हुनसकेको छैन ।

    रोशन चौधरीले धादिङको धुनिबेसी नगरपालिकाको कवाडी करको ठेक्का लिएका छन् । धुनिबेसीको मात्र संकलन गर्न पाउने ठेक्का पाएका चौधरीले काठमाडौंबाट संकलन गरिएको सबै कवाडी बोकेका गाडीको कर कानुनबिपरीत असुल्ने गरेका छन् ।

    धुनिबेसी नगरपालिकाभित्रको मात्र कर असुली गर्ने ठेक्का पाएका रोशन चौधरीको आर एण्ड आर भालेश्वर ट्रेडर्सले काठमाडौंबाट दैनिक कवाडी बोकेर जाने गाडीबाट प्रतिगाडी ४५ हजार रुपैयाँसम्म अवैध रुपमा असुली गर्ने गरेको बिल नेपालफेससँग सुरक्षित छ ।

    चौधरीले काठमाडौं र ललितपुर महानगरपालिकाभित्र गुण्डा परिचालन गरी कानुनबिपरीत जबर्जस्ती कवाडी ब्यवसायीहरुसँग पैसा असुलिरहँदा पनि प्रहरी प्रशासन देखेको नदेख्यै गर्दैआएको छ । र, अदालतलाई उनले मुट्ठीमा राखी आफू अनुकूल आदेश गराएको दृष्टान्त ललितपुर महानगरको कवाडी कर असुलीमा उच्च अदालत पाटनले दिएको अनौठो आदेशलाई लिन सकिन्छ । अबैध रुपमा ठेक्का नै नलिई रोशन चौधरीको कम्पनीलाई कवाडी कर असुली गर्न दिन उच्च अदालतले ललितपुर महानगरलाई आदेश दिएको छ ।

    रोशन चौधरीले धुनिबेसीको ठेक्का लिएर काठमाडौंबाट जाने सबै पालिकाको कवाडी कर कलंकी, नागढुंगाबाटै गाडीको पिछा गर्न कुण्डलेहरु पठाई जबर्जस्ती असुली गर्दा पनि प्रहरीले रोक्नुको साटो साथ र सहयोग गर्दैआएको छ । काठमाडौं, ललितपुुर र धादिङका प्रहरी हाकिमहरुलाई रोशन चौधरीले राजमार्गमा अबैध रुपमा जबर्जस्ती कवाडी कर असुली गरेको थाहा भए पनि पूर्ण साथ र सहयोग गरेको आरोप छ ।

    नागार्जुन नगरपालिकाको कवाडी करको ठेक्का र प्रहरीको धरपकड

    रोशन चौधरीले नागार्जुन नगरपालिकाको कवाडी करको ठेक्का बदर गराउन धेरै प्रयास गरे पनि २०८३ असार ४ गते उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनालीसहितको संयुक्त इजलासले रोशनको मुद्दा खारेज गरिदिएपछि नागार्जुन नगरपालिकाले ठेकेदार निसान ट्रेडर्सलाई कवाडी कर उठाउन पत्र दियो ।

    नागार्जुन नगरपालिकामा कवाडी कर उठाउने क्रममा निसान ट्रेडर्सका कर्मचारीलाई असार १० गते प्रहरी बृत्त स्वयंभूका  इन्चार्ज डीएसपी मोहनमणि अधिकारीको निर्देशनमा पक्राउ गरी थुनामा राखियो ।

    डीएसपी अधिकारीलाई ठेक्का लिएर कानुनसम्मत कवाडी कर उठाउँदा निशान ट्रेडर्सका कर्मचारीलाई किन पक्राउ गरिएको हो भन्ने नेपालफेसको प्रश्नमा उनले १०० मा फोन मार्फत् गुनासो आएकाले पक्राउ गरेको जवाफ दिए । निशान ट्रेडर्सले कानुनसम्मत कर उठाउँदा रोशन चौधरीको अबैध कर असुली नफष्टाउने भएकाले पक्राउ गरिएको आरोपका बारेमा डीएसपी अधिकारीले भने–‘म रोशन चौधरीलाई चिन्दिनँ ।’

    नागार्जुन नगरपालिका स्वयम्भू बृत्तको कार्यक्षेत्रमा पर्दछ । कलंकी, सीतापाइललगायत क्षेत्रका कवाडी ढुवानी हुने प्रमुख मार्ग रहेको र यो क्षेत्रमा काठमाडौंका ठेकेदारले कर उठाउनुपूर्व रोशन चौधरीले प्रहरीको सहयोगमा खुलेआम गुण्डा प्रयोग गरी कर उठाउने गरेका छन् । तर निशान ट्रेडर्सले बैधानिक रुपमा टेण्डरमा भाग लिएर ठेक्का लिई कर उठाउँदा उसलाई स्वयम्भू प्रहरी बृत्तदेखि जिल्ला प्रहरी परिसर काठमाडौंले किन रोकिरहेको छ ?

    काठमाडौं र स्वयम्भू प्रहरीले रोशन चौधरीले अवैध रुपमा कर उठाउन कलंकीदेखि नागढुंगासम्म राखेका गुण्डाहरुलाई नदेखेकै हो त भन्ने प्रश्नमा जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईको प्रतिक्रिया यस्तो छ–‘नागार्जुनको ठेक्का लिएको निशानले रिङरोडभित्रसम्म आएर कवाडी कर असुली गरेकाले नियन्त्रणमा लिइएको हो ।’ उनको भनाइ छ–‘रोशन चौधरीले गरेको अवैध असुलीको बारेमा जानकारी थिएन, त्यसरी एउटा पालिकाको ठेक्का लिएर त्यो पालिकाभित्रको कवाडी कर मात्र असुल्न पाइन्छ, अन्यत्रबाट गएको कवाडीको अबैध रुपमा कर असुली गर्न पाइँदैन । अब निगरानी गर्नेछौं, त्यस्तो भेटिए कानुन अनुसार कारबाही हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार