काठमाडौं। मेलम्चीको पिउने पानी भोली (आइतवार) बाट उपत्यकावासीको धारामा बितरण हुने भएकोछ । धेरै समयको प्रतिक्षापछि उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना साकार हुने भएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आइतबारदेखि पानी काठमाडौंका धारामा वितरण गर्ने जनाएकोछ। पुरानो वितरण प्रणाली भएकाले समस्या नआइ सहजै धारामा पिउन योग्य पानी जाने पनि केयूकेएलले जनाएको छ ।
मेलम्चीको पानी काठमाडौंका धारामा वितरण गर्नुअघि धोबीखोलामा खसालिएको छ । शुक्रबार मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै चावहिल नजिकैको धोबीखोलामा खसालिएको हो ।
मेलम्चीको पानी खसालेपछि धोबीखोला समेत सङ्लिएको छ ।आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ। मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिएका छन् ।
‘आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’ पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ ।