Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बर्खास्त भएका रञ्जितसँगै शिक्षामन्त्री प्रमुख अतिथि, निर्देशक र अधिकृतको छानबिन दबाबमा रोकियो


    मंगलबार, असार ९ २०८३
    1.3K
    Shares
    बायाँबाट महेन्द्रराज रञ्जित, शिक्षामन्त्री सस्मित पोखरेल र अर्पण कार्की
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्काउटको ७५ औं स्थापना दिवसमा रोचक दृश्य देखिएको छ । असार ५ गते आयोजित स्थापना दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

    स्काउटको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा पोखरेलसँगै यसअघि अयोग्य सावित भई बर्खास्तीमा परेका पूर्व प्रमुख आयुक्त महेन्द्रराज रञ्जित, कार्यकारी निर्देशक अर्पण कार्की ३ जना लहरै मञ्चमा बसेका थिए । केही समयअघि जारी अध्यादेशबाट नेपाल स्काउटको केन्द्रीय कार्यसमिति बिघटन भएको थियो । अहिले कार्यसमिति नै छैन ।

    यस्तो अवस्थामा आयोजित उक्त कार्यक्रममा अर्पण कार्कीले चाकडीको पराकाष्टा नै नाघेर २ कार्यकालअघि पूर्व प्रमुख आयुक्त रहेका रञ्जितलाई मञ्चमा निम्त्याएका थिए । उनलाई मञ्चमा पदासिन गराएर कार्कीले सुशासनको खिल्ली उडाएका थिए । स्काउटमा हाल ५६ जना निर्वाचित परिषद सदस्य छन् । रञ्जित तीमध्येका एक हुन् । रञ्जितको योग्यतासम्बन्धी विवादका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उनलाई बर्खास्त गरेका थिए ।

    प्रक्रियाबिपरीत नियुक्त भएको भन्दै परेको उजुरीमा राष्ट्रिय सतर्कता केन्द्रले रञ्जितको नियुक्ति बदर गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएपछि उनी पदमुक्त गरिएका थिए । रञ्जितको प्रमुख आयुक्तको नियुक्ति कानुनबिपरीत भएको भन्दै हालकै निर्देशक कार्कीको नेतृत्वमा स्काउट परिसरमा एक महिना आन्दोलन भएको थियो । अहिले तिनैै निर्देशक कार्कीले रञ्जितलाई आफ्ना स्काउटका गुरु भन्दै लज्जाबोध नै नगरी मञ्चमा बिराजमान गराएका थिए ।

    रञ्जित पदमुक्त भएपछि बरिष्ठ स्काउटर देवराज घिमिरे प्रमुख आयुक्तमा नियुक्त भए । एक बर्ष नबित्दै घिमिरेले घरायसी कारण देखाउँदै राजीनामा दिएपछि जेनजी सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले तत्कालीन सहप्रमुख आयुक्त इन्दु तिवारी सुवेदीलाई प्रमुख आयुक्तको रुपमा काम गर्नेगरी जिम्मेवारी दिएका थिए । इन्दुको कार्यसमिति अध्यादेशमार्फत् बिघटनमा परेपछि नेपाल स्काउट नेतृत्वबिहीन छ ।

    अयोग्य भई पदमुक्त भएका उनै रञ्जित अहिले प्रमुख आयुक्त बन्ने अभियानमा छन् । उनले खेलकुद मन्त्री पोखरेलका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार र सल्लाहकार राजु घिसिङमार्फत् मन्त्रीसमक्ष प्रमुख आयुक्तका लागि दाबेदारी पेश गरिसकेका छन् । सिद्धि छायाँ प्रधानमन्त्रीको संज्ञा पाएका कुमार ब्यन्जनकारका दाजु हुन् । सिद्धिलाई शिक्षा तथा खेलकुदमा खेलकुदतर्फको छायाँ मन्त्रीकै संज्ञा दिने गरिएको छ ।

    निर्देशक अर्पण कार्कीले रञ्जितलाई प्रमुख आयुक्तमा ल्याउन सके आफू अनुकूल स्काउट संचालन गर्न सकिने योजनाका साथ उनलाई स्काउटमा भित्र्याउन खोजिरहेका छन् । सोही अभियानलाई मूर्तरुप दिन मन्त्रीको उपस्थितिमा मञ्चमा राख्नै नपर्ने रञ्जितलाई महत्वका साथ राखेर अन्य स्काउटरहरुको अपमान गर्ने काम गरेका थिए । मञ्चमा उपस्थित भएका रञ्जितले कार्यक्रम अवधिभर प्रमुख आयुक्त नै भएजस्तो भूमिका निर्वाह गरेर उपस्थितहरुलाई नै लज्जित बनाएका थिए ।

    सुशासनको चर्को वकालत गर्दैआएको वालेन्द्र शाह सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मितले अयोग्य सावित भई कार्यकाल नै पूरा नभई पदमुक्त भएका रञ्जितलाई अतिथिको रुपमा मञ्चमा राखिएको कार्यक्रममा सहभागी हुनु, नियुक्ति सम्बन्धी विवाद मन्त्रालयले छानबिन गरिरहेको अवस्थामा निर्देशक कार्कीले आमन्त्रण गरेको कार्यक्रममा प्रमुख अतिथि भएपछि अनेक प्रश्न खडा भएका छन् ।

    मन्त्री पोरखेलले निर्देशक कार्कीसँग सोही दिन स्काउटको दीक्षा लिएर कार्यक्रममा सहभागी भएका थिए । निर्देशक कार्कीको नियुक्ति सम्बन्धी विवादलाई आफैंले नेतृत्व गरेको मन्त्रालयले छानबिन गरिरहेको अवस्थामा तिनै कार्कीबाट दीक्षा लिई स्काउटको स्थापना दिवसमा सहभागी हुुनुले मन्त्रीबाटै सुशासनको धज्जी उडाउने काम भएको छ । मन्त्री पोखरेलले नै सुशासनको मर्म र भावनाबिपरीत छानबिन भइरहेका कार्कीबाट दीक्षित भई उनैले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुुनु, भाडा असुलीको विवादमा परेको स्थलमा आयोजना गरिएको कार्यक्रममा जानुले उनी विवादमा परेका हुन् ।

    कार्कीको नियुक्तिमा तत्कालीन युवा तथा खेलकुद मन्त्रालयको पूर्वसहमति र प्रतिनिधित्व नभएको एवं लोकसेवा आयोगका प्रतिनिधि पदपूर्तिमा समितिमा नराखिएको हुँदा उक्त नियुक्ति नै अबैधानिक भएको भन्दै परेको उजुरीमा मन्त्रालयले छानबिन गरिरहेको छ । तत्कालीन सचिव लोकनाथ पौडेललाई प्रभावमा पारेर छानबिन बिलम्ब गर्दैआएका कार्की मन्त्रालय नै गाभिएपछि यो बिषय ओझेलमा पार्ने र ढिसमिस पार्ने दाउमा छन् ।

    योग्यता नपुगेकाले तपाईहरुले नै आन्दोलन गरी बर्खास्त गरेका महेन्द्रराज रञ्जितलाई अतिथिका रुपमा शिक्षामन्त्रीसँगै मञ्चमा आसिन गराएकोबारेमा निर्देशक अर्पण कार्कीले भने–पूर्व प्रमुख आयुक्तहरुलाई अतिथिका रुपमा बोलाउने प्रचलन छ । त्यही प्रचलन अनुसार उहाँलाई अतिथिका रुपमा राािखएको हो ।’

    स्काउटको बारेमा बिभिन्न निकायमा धेरै उजुरी परे पनि मन्त्रालय रमिते बनेर बसेको छ । करोडौं भाडा असुली गर्नुपर्ने स्काउटको कार्यकारी निर्देशक र कर्मचारीहरुमाथि कुनै कारबाही हुनसकेको छैन । लैनचौरमा अवस्थित नेपाल स्काउटका पसल कवलहरु अपारदर्शी रुपमा ब्यक्तिगत घरजस्तै भाडामा लगाएर कर्मचारीहरुले अनियमितता गर्दा पनि मन्त्रालयले रोक्न सकेको छैन ।

    स्काउटका प्रशासन प्रमुख सन्तोष चौहान र कार्यकारी निर्देशक कार्कीको मिलेमतोमा केही सटरहरुको भाडा कार्यालयको अभिलेखमा आम्दानी नबाँधी सिधै उठाएर अनियमितता गरिरहेको आरोप छ् । चौहानको अनियमितताका बिषयमा नेपाल स्काउटको यसअघिको कार्यसमितिले आयुक्त सन्तोषकुमार थापाको नेतृत्वमा छानबिन समिति बनाई कार्यान्वयनका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सतर्कता केन्द्र र केन्द्रीय कार्यालयमा परेको उनका बिरुद्धको उजुरीको छानबिन गरी थापा नेतृत्वको कार्यदलले प्रतिवेदन सतर्कता केन्द्रमा पठाएको र केन्द्रले २०८२ असोज ३० गते तत्कालीन युवा तथा खेलकुद मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयन गरी जानकारी गराउन पत्राचार गरे पनि मन्त्रालय कुनै पहल अगाडि बढाउन सकेन ।

    तत्कालीन युवा तथा खेलकुद सचिवद्वय डा. हरि लम्साल र लोकनाथ पौडेललाई चौहानले एमालेको भिटो प्रयोग गरी प्रतिवेदन कार्यान्वयन हुन रोकेको आरोप छ । करिब ५० पृष्ठ लामो उक्त प्रतिवेदन कार्यान्वयन गर्ने हो भने चौहानले नेपाल स्काउटको जागिरबाट हात धुनुपर्ने त छँदैछ, आर्थिक अनियमिततामा उनीमाथि अख्तियारले समेत एक्सन लिन सक्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार