काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सिरहाका किशोरी यादवका चार वटा व्यापारिक फर्ममाथि मुद्दा अघि बढाएको छ ।
यादव सञ्चालक रहेका रेणु इन्टरप्राइजेज, ओएनएस, रूपम र आरजु इन्टरनेसनल प्रा.लि.विरूद्ध झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी कर छलेको आरोपमा उच्च अदालतमा मुद्दा दायर गरिएको हो।
विभागले ती फर्महरूसँग दुई अर्ब १७ करोड १८ लाख १०७ रुपैयाँ बिगो मागेको छ।
उनीसहित मुद्दा दायर गरिएकामा बैंक खाता सञ्चालक विनय लिहला अग्रवाल, प्रोप्राइटर रेणुकुमारी यादव र मूर्तिदेवी सिंह छन्।
विभागका अनुसार ओएनएससँग ७६ करोड ६७ लाख ८३ हजार ९३९ रुपैयाँ बिगो माग गरिएको छ।
उक्त कम्पनीले २६ करोड ५७ लाख ७४ हजार २०२ मूल्य अभिवृद्धि कर र ५० करोड १० लाख ९ हजार ७३७ रुपैयाँ आयकर छलेको विभागले बताएको छ।
यस्तै, रेणु इन्टरप्राइजेससँग विभागले ५० करोड ६० लाख ८२ हजार २२० रुपैयाँ बिगो माग गरेको छ।
उक्त फर्ममा यादव, विनय लिहला अग्रवाल तथा रेणुकुमारी यादवले मिलेमतोमा वस्तु तथा सेवा खरिद नै नगरी, आयात गरेको मालवस्तु भन्दा फरक मालसामान बिक्री गरी झुठ्ठा तथा नक्कली विजकको कारोबार गरेको विभागको अनुसन्धान छ।
यस्तै, यादव सञ्चालक रहेको रुपम् ट्रेस कन्सर्नसँग ४७ करोड १८ लाख ६० हजार ५२६ रुपैयाँ बिगो माग गरिएको छ।
यादवकै अर्को कम्पनी आरजु इन्टरनेसनलसँग ४० करोड ८७ लाख ९१ हजार ४२२ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको छ।
प्रतिवादीमाथि जरिवाना र कैद सजाय समेत माग गरिएको विभागले जनाएको छ।
यस्तै, विभागले विभिन्न पाँच वटा व्यापारिक फर्महरूसँग ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ बिगो माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएकामा पर्सागढी नगरपालिका-४ को ओम श्रीराम इन्टरप्राइजेज, सिरहाको एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरीको द भिजन इन्टरप्राइजेज र
वीरगञ्जको गणेश इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. रहेका छन्।