काठमाडौं । कोरोना भाइरस रोकथामका लागि गत बर्ष स्वास्थ्य सामग्री खरिदको ठेक्कामा विवादमा परेको ओम्नी ग्रुपलाई नै सरकारले सेक्युरिटी क्युरिटी प्रेस मेसिनको ठेक्का दिएको छ । सुरक्षण मुद्रण केन्द्र स्थापनाको पहिलो चरणमा आउने सेक्युरिटी प्रेस मेसिनको ठेक्का ओम्नीकै संचालकमध्येका नवीन तुलाधर र अकबर साहको म्याक्स इन्टरनेसनललाई दिने भएको छ ।
सार्वजनिक खरिद ऐन नियम अनुसार म्याक्स भन्दा ६ करोड कम कबोल गरेको इलिमिक इन्टरनेशनललाई ठेक्का दिनुपर्ने हो । तर ६ करोड बढी कबोल गर्ने क्याक्सलाई दिइएको छ । स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नीले बजार मूल्यभन्दा धेरै महंगो दरमा आपूर्तिको ठेक्का लिएको बिषयमा ब्यापक बिरोध भएपछि स्वास्थ्य सेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरे पनि म्याक्सलाई नै ठेक्का दिने भएको छ । प्रतिस्पर्धामा ४ कम्पनी सहभागी थिए । चार वटामध्ये दोस्रो दररेट प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने इलिमिकलाई नदिने निर्णय सुरक्षण मुद्रण विकास समितिले गरेको छ । ओम्नी अन्तर्गतकै म्याक्सलाई उक्त ठेक्का समितिका कार्यकारी निर्देशक विकल पौडेलकै सेटिङमा दिइएको छ । ओम्नी ग्रुपका संचालक तुलहरि सिंहले सानेपामा रहेको १७ आना जग्गा नै विकल पौडेलका आफन्तलाई दिएर उक्त ठेक्का हत्याएको चर्चा छ ।
केही दिनअघिमात्रै उक्त जग्गा पौडेलका आफन्तको नाममा ‘बिक्री गरिएको’ स्रोतको दाबी छ । बिक्री गरिएको देखाइएको भए पनि सेक्युरिटी प्रेसको ठेक्काको घुसमा त्यो मिलान गरिएको स्रोतले बताएको छ । म्याक्स इन्टरनेसनले विद्यालयहरुमा सूचना प्रविधि ल्याब स्थापना गर्न लगाएको ३ अर्ब ५० करोड मूल्यको ठेक्कामा ओम्नी समूह ज्वाइन्ट भेन्चर थियो । उक्त ठेक्का गोकुल बाँस्कोटा संचारमन्त्री हुँदा उनकै दबाबमा दिइएको थियो । सेक्युरिटी प्रेसकै ठेक्कामा बिचौलिया बिजय मिश्रसँग ७० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले संचारमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
केन्द्रका कार्यकारी निर्देशक विकल पौडलले म्याक्स इलिमिकभन्दा प्राविधिक रुपमा योग्य भएकाले दिएको दाबी गरेका छन् ।
ओम्नी समूहमा तुलहरि सिंह र नवीन तुलाधरसहितका संचालक छन् । पर्दापछाडिका ओम्नीका संचालक नवीन तुलाधर हुन् । हिमालय होटलका लगानीकर्ता तुलाधरले नै ओम्नी समूहमा तुलहरि सिंहहरुलाई परिचालन गर्दैआएका छन् ।
ओम्नीले अयोधी यादव प्रमुख निर्वाचन आयुक्त हुँदा मतपत्र छाप्नका लागि किनेको मेसिन कामै नलाग्ने खालको भएकाले प्रयोगबिहीन भएर थन्किएको छ ।