Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द


    बुधबार, चैत्र ११ २०७७
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दूल्लु । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

    ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

    विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो । विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिनुभयो । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा गुरुङले जानकारी दिनुभयो ।

    यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताउनुभयो ।

    सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार