Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमा नाकामा गम्भीर बेवास्ता


    बुधबार, चैत्र ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।

    नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।

    ‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । १० चैत २०७६ देखि नेपाल–भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो ।

    फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकामा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको उनले जानकारी दिएका हुन् ।

    ‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढाले राजधानीसँग भने ।

    यसैगरी, आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले सबैमा आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

    गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर १ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    कुन–कुन सीमा नाका खुला ?
    खजुरगाछी झापा, भन्टाबारी सुनसरी, कुनौली सप्तरी, जटही धनुषा, इनर्वा धनुषा, भिट्टामोड महोत्तरी, मलंगवा सर्लाही, बंकुल रौतहट, मटिअर्वा बारा, सिम्रौनगढ बारा, त्रिवेणी पूर्वी नवलपरासी, महेशपुर पश्चिम नवलपरासी, तौलिहवा कपिलवस्तु, कोइलाबास दाङ, सुरजपुर बर्दिया, पशुपतिनगर इलाम, काँकडभिट्टा झापा, रानी मोरङ, माडर सिरहा, गौर रौतहट, वीरगन्ज पर्सा, रसुवागढी रसुवा, कृष्णनगर कपिलवस्तु, बेलहिया रूपन्देही, जमुनाह बाँके, गौरीफन्टा कैलाली, गड्डाचौकी कञ्चनपुर, खलंगारपुलाघाट दार्चुला र झुलाघाट बैतडी र तातोपानी सिन्धुपाल्चोक। (राजधानी दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार