बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखि नै मौरीपालन व्यवसायमा लागिरहेका छन् ।
उनलाई सानै छँदाको सम्झना अहिले पनि छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उनी अहिले ५ घार मात्रै रहेको बताउँछन् ।
लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताए । तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी पनि मर्न थालेपछि उनी चिन्तित भएका छन् ।
‘मौरी के कारणले मरे भन्नेबारे त्यति जानकार नभए पनि भएका घारमा पनि मह निकाल्दा मह पनि हँुदैन । चैत, वैशाख मौरीको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरू मात्र लागेका हुन्छन्,’ उनले भने ।उनका अनुसार धेरै वर्षअगाडि मौरीलाई चर्नका लागि जंगल हुन्थ्यो । मान्छेहरू खेतबारीमा तोरी प्रशस्त गर्थे । चिउरीको बोटहरू हुन्थे । अहिले गाउँघरमा केही छैन । वनमा फुल्ने लालीगुराँस समेत पानी नपरेकाले नफुलेरै सुकेका छन् ।
वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको उनको दाबी छ ।
मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको धनबहादुरको भनाइ छ । ‘यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन,’ उनले भने, ‘चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।’ त्यसैले यस वर्ष उत्पादन घटेको उनको भनाइ छ ।
धेरै वर्षदेखि मौरीपालनमा लागेका जयपृथ्वी नगरपालिका–२ घर भएका जनक खड्काले समेत विगत केही वर्षभन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताए । मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट मह बेच्ने आउनेहरू बढ्न थालेका छन् ।
दाङ जिल्ला घर भएका लालबहादुर चौधरीलगायत टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन् । हाल जिल्लामा मह प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भइरहेको छ ।
कृषि ज्ञान केन्द्र बझाङका अनुसार जिल्लामा हाल मौरी व्यवसायीको संख्या ४३ जना रहेका छन् । जिल्लामा वार्षिक २ हजार ५०० किलोग्राम मह उत्पादन हुने गरेको छ । जिल्लामा ७४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८१२ घार छन् भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका उत्तम क्षेत्र मानिन्छ । – रासस