भारत फेरि तेस्रो दैनिक धेरै संक्रमण हुने मुलुक भएको छ।
करिब पाँच महिनादेखि संक्रमणको गति कम देखिएको भारतमा पछिल्ला दिनमा संक्रमण ह्वात्तै बढ्न थालेको हाे।
विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै टाइम्स अफ इन्डियाका अनुसार दैनिक संक्रमणमा ब्राजिल सबैभन्दा अगाडि छ। मार्च २२ मा ब्राजिलमा ७९,०६९ संक्रमित देखिए भने अमेरिका र भारतमा क्रमश ६०,२२२ र ४६,९५१ संक्रमित देखिए।
भारतमा पछिल्लो चार दिन लगातार ४० हजार भन्दा बढी संक्रमित देखिएका छन्। जबकि, यो संख्या करिब डेढ महिना अघि साढे आठ हजार मात्र थियो। अर्थात भारतमा दैनिक संक्रमण पछिल्लो डेढ महिनाको अवधिमा झण्दै पाँच गुणाले बढेको छ।
भारतमा अहिले देखिएको संक्रमण मुख्यगरी दक्षिणी राज्यमा धेरै देखिएपनि त्यो बिस्तारै नेपालको सिमासँग जोडिएका राज्यहरुमा आइपुग्ने अनुमान गरिएको छ।
भारतमामा महाराष्ट्र, गुजरात, मध्यप्रदेश, कर्णाटका र पंजाबमा संक्रमण धेरै बढ्दै गएको देखिएको छ। भारतमा पछिल्ला दिनहरुमा देखिएको संक्रमणको करिब ८० प्रतिशत यीनै राज्यमा देखिएको भारतीय अखवार हिन्दुस्तान टाइम्सले जनाएको छ।
दिल्लीमा पनि संक्रमण बढ्न थालेको र काठमाडौ-दिल्लीबीच हवाइ सेवा सुचारू रहेकाले पनि नेपालले सतर्क रहनुपर्ने देखिएको छ।