Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने


    सोमबार, चैत्र ९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो ।

    पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो । बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले रु ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।

    विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट www.tucl.org.np मा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ ।

    पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताउनुभयो । उहाँका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेशमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।

    उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् । यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ ।

    उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।

    छुट्टै ई–पुस्तकालय

    प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माणको शुरुआत गरेको छ ।

    अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ । पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेशन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार