काठमाडौं, १९ बैशाख । चिकित्सक डा.अर्जुन कार्की, संविधानविद् विपिन अधिकारी, पत्रकार कनकमणि दीक्षित, लेखक टीका ढकाल, पूर्वसचिव रामेश्वर खनाल, अधिकारविद डा. रेणु अधिकारी, पूर्वाधारविद डा. सूर्यराज आचार्य र मानवअधिकारकर्मी सुशील प्याकुरेलसहितका नागरिक अगुवाहरूले कोरोना संक्रमणविरुद्धको अभियानमा सफलता हात लागिरहेका बेला संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु खेदजनक रहेको विज्ञप्ति बुधबार जारी गरेका थिए । त्यसको प्रतिक्रियामा युवानेतृ तथा नेकपाकी सांसद रामकुमारी झाँक्रीले बिहीबार सामाजिक संजालमा लेखिन्– ‘प्रबुद्ध नागरिक समाजको फ्लेबर कताको रहेछ, सानो कुरा बुझ्न खोजेको नि ?’
झाँक्रीले तिनै विज्ञप्ति जारी गर्ने १० जना प्रबुद्ध नागरिकतर्फ संकेत गरेर लेखेपछि त्यसमा प्रतिक्रिया जनाउँदै शिक्षाविद रामेश्वर अर्यालले लेखेका छन्–‘प्रश्न नै गलत भयो कि माननीयज्यू ? यतिखेरको तपाईंको प्रश्न यस्तो हुनुपथ्र्यो–‘विश्व कोरोनाले आक्रान्त छ, विदेशमा पचासौं नेपालीको मृत्यु भइसकेको छ र हजारौँ हाम्रा आफन्त नेपालीहरू मृत्युुसँग लडिरहेका छन् । दसौँ लाखले विदेशमा रोजगारी गुमाएका छन् र देश फर्किन आतुर छन् । देशका उद्योगधन्दा, कलकारखाना साराका सारा ठप्प छन् । देशभित्रै दसौं लाखले रोजगारी गुमाउँदैछन् ।
मृत्युुले कतिखेर घण्टा बजाउने हो भन्ने हरेकमा त्रास छ । आफ्नो उत्पादन छैन । राजस्व ठप्प छ । देश जटिल मोडमा गएको बेलामा संकट टार्न के गर्नुपर्ला ? आदि आदि ।। राजनीति र नेताहरूप्रति चरम घृणा उत्पन्न भएको विषम परिस्थितिमा राजनीतिबाट माथि उठौँ माननीयज्यु । बेरोजगारी र भोकमरीको आवेगपूर्ण तुफानी बेगले सत्ताधारी तपाईंहरूलाई बढारेर लानसक्छ । आजका मूल समस्या रोग र भोक हुन् र यिनै कुरामा युवा नेतृत्व पूरै केन्द्रित होओस् र तपाईंहरूको बलिदानमा गर्व गर्न पाइयोस् भन्ने नै आम जनता र शुभचिन्तक चाहिरहेका छन् । ‘छोटा मुह बडा बात’ भएको भए माफ पाऊँ है माननीयज्यू ।’
झाँक्रीलाई जवाफ दिंदै किस्मत भण्डारीले लेखेका छन्–‘अबको समय भनेको देश सुशासन, बिधि, पद्धति र सिस्टमले चलाउनुपर्ने अबस्था हो । सन्सार कहाँ पुग्यो,तर हाम्रोमा सामान्यतया राजनीतिकर्मीहरु आपसमा जुधेर पद प्राप्तिलाई मात्र आफ्नो सफलता ठान्दछन् । साधारणतया राजनीतिकर्मीहरु विचारमा हैन कि जति ठुलो पद प्राप्त हुन्छ सफलता पनि सोही बमोजिम ठुलो मान्ने गर्छन् । यद्यपि वृहद अर्थमा हेर्ने हो भने पद प्राप्ति राजनीतिको सफलता वा असफलता मापन गर्ने विधि वा आधार होइन । वास्तवमा आफ्नो देश या समाजलाई समयोचित मार्गदर्शन गर्न सक्ने कुशल, दुरदर्शी एवं इमान्दार व्यक्ति जो सामाजिक उन्नतिका लागि अहोरात्र निस्वार्थ क्रियाशील रहन्छन् तिनै व्यक्ति सफल राजनीतिज्ञ मानिन्छन् । यो राजनीतिक जीवन आदर्शलाई हाम्रा लोभीपापी स्वार्थी नेताहरुले मनन गर्लान् अनि देश तथा जनताका बारेमा सोच्लान् र खै ?’
दीपक सापकोटाले पनि झाँक्रीको प्रश्नमा जवाफ दिंदै लेखेका छन्–‘केपी बाले यिनीलाई चिन्दैनन् क्या हो, हामी जस्तै फेसबुकमा पोखिया पोखियै गर्छिन् त, कुरा जे गरे नि भाव चाहिँ एउटा थान मन्त्री चाहिएको हो कि जस्तो ।’