सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत् शुल्क मिनाहा गरेको छ।
कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन् ।
सरकारको निर्णयअनुसार लकडाउन सुरु भएको ०७६ चैत ११ गतेदेखि भदौसम्मको विद्युत् डिमान्ड शुल्क शतप्रतिशत छुट दिइनेछ। यस्तै, असोज १ गतेदेखि माघसम्मको तिर्नुपर्ने डिमान्ड शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ।
यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण भएका र कर विवरण पेस गरेकाको हकमा लागू हुनेछ। उद्योगका रूपमा दर्ता भन्ने सर्तका कारण साना रेस्टुरेन्ट भने यो सुविधाबाट लाभान्वित नहुने देखिन्छ।
सरकारले कोभिडबाट प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको डिमान्ड शुल्क र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने निर्णय बजेटमार्फत गरेको थियो। होटल तथा रेस्टुरेन्टलाई सेवा उद्योगअन्तर्गत राखेका कारण कोभिडबाट अति प्रभावित भए पनि यो छुटबाट वञ्चित हुनुपर्ने अवस्था थियो।
होटल व्यवसायीको निरन्तर प्रयासपछि सरकारले डिमान्ड शुल्क छुट गरेको बताउदै होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक सरकारको यो निर्णय स्वागतयोग्य भएको र शुल्कमा छुट हुँदा व्यवसायमा राहत हुने भन्दै खुसि व्यक्त गरे ।