Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बरहथवामा घर खानतलासी प्रकरणपछि इलाका प्रहरी कार्यालय विवादको घेरामा (भिडियोसहित)


    मंगलबार, बैशाख १५ २०८३
    3.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–७ नयाँ बसपार्क क्षेत्रमा भएको घर खानतलासी प्रकरणलाई लिएर इलाका प्रहरी कार्यालय बरहथवा चौतर्फी विवादमा परेको छ ।

    स्थानीयवासीले प्रहरीले सादा पोसाकमा आएर बिना अनुमति, बिना पुर्जी र बिना स्पष्ट कारण घरभित्र प्रवेश गरी खानतलासी गरेको आरोप लगाएपछि घटना थप गम्भीर बनेको हो ।

    पीडित प्रतिमा गुप्ताका अनुसार सिभिल पोसाकमा आएका तीन जना व्यक्तिले आफूहरू इलाका प्रहरी कार्यालय बरहथवाबाट आएको बताउँदै कुनै कारण नखुलाई घरभित्र प्रवेश गरी झोला, पेटी तथा अन्य सामान जाँच गरेका थिए ।

    आफूले पैसा राख्ने गल्ला र झोला समेत खोल्न लगाएर चेक गरिएको उनको आरोप छ । घटनाबारे सोध्दा कुनै जानकारी नदिई धाकधम्कीपूर्ण व्यवहार गरिएको गुप्ताले बताएकी छन् ।

    इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरञ्जन भट्टराईले भने अनुमति लिएरै खोजतलासी गरिएको दाबी गरेका छन् । उनका अनुसार प्रतिमा गुप्ताको घरसहित सोही क्षेत्रका राम कैलाश यादव, रामनाथ शाह र अशोक गुप्ताको घरमा समेत खोजतलासी गरिएको थियो ।

    तर स्थानीयवासीले प्रहरीको उक्त दाबी अस्वीकार गरेका छन् । उनीहरूका अनुसार प्रहरी टोली सादा पोसाकमा आएको, कुनै आधिकारिक परिचय नखुलाएको, खोजतलासी पुर्जी नदेखाएको र घरधनीको स्पष्ट सहमति बिना नै घरभित्र प्रवेश गरेको थियो ।

    स्थानीय स्रोतका अनुसार नेपाली कांग्रेस निकटका एक स्थानीय नेता गजेन्द्र शाहकी दिदीको घरमा चोरी भएको घटनापछि केही शंकास्पद घरहरूमा खोजतलासी गरिएको बुझिएको छ । सोही घटनापछि नेता शाहकै दबाबमा प्रहरीले केही घरमा छापा शैलीमा जाँच गरेको चर्चा समेत चलेको छ ।

    कानुनविद्हरूका अनुसार सामान्य अवस्थामा घर खानतलासी गर्दा प्रहरी परिचय खुलाएर, आवश्यक कागजातसहित, तोकिएको प्रक्रिया पालना गरी प्रवेश गर्नुपर्छ । सादा पोसाकमा, बिना पुर्जी र बिना अनुमति घरभित्र प्रवेश गर्नु कानुनी र नैतिक दुवै दृष्टिले प्रश्नको विषय बन्न सक्ने बताइन्छ ।

    खानतलासी गरिएका घरहरूबाट कुनै पनि शंकास्पद सामग्री फेला नपरेको र प्रहरी टोली रित्तो हात फर्किएको स्थानीय स्रोतले जनाएको छ । घटनापछि सम्बन्धित परिवारहरू मानसिक तनावमा रहेको र आफूहरूलाई अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।

    यस घटनापछि इलाका प्रहरी कार्यालय बरहथवा अहिले स्थानीय तहदेखि विभिन्न पक्षको आलोचनाको केन्द्र बनेको छ । बिना्पुर्जी, बिना अनुमति र सादा पोसाकमा घरभित्र प्रवेश गर्न कसले आदेश दियो भन्ने प्रश्न उठिरहेको छ । यदि कानुन मिचिएको पुष्टि भए जिम्मेवारमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा समेत चासो बढेको छ ।

    घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

    प्रहरीले खानतलासी गरेकोबारेमा स्थानीको भनाइ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार