Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाही तस्करीमा प्रहरीकै संलग्नता : डीएसपी, एसपी र घुमुवाहरूको सेटिङ खुलासा


    सोमबार, साउन १२ २०८२
    9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्र हुँदै चलिरहेको तस्करी अब संगठित र संस्थागत स्वरूपमा बदलिएको छ । तस्करी नियन्त्रण गर्न खटिनुपर्ने प्रहरी नै अहिले तस्करी सहज गराउने ‘सेटिङ म्यानेजर’ को भूमिकामा देखिएका छन् ।

    सर्लाहीको हिरापुर ब्यारेज प्रहरी चौकीका तत्कालीन इन्चार्ज सई बैद्यनाथ दासले तस्करसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका छन् । तर, उनको स्थानमा पठाइएका नयाँ इन्चार्ज सई नागेन्द्रप्रसाद यादव आएसँगै एक हप्ता नबित्दै तस्करी पुनः सञ्चालनमा आएको खुलेको छ ।

    स्थानीय स्रोतका अनुसार फेनहरा, मधुवनी गाउँ, मधुवनी गोठ, बहादुरपुर, अर्नाहा र बलरा क्षेत्रबाट तस्करी गरेर ल्याइने सामानहरू हिरापुर ब्यारेज हुँदै बरहथवामा पुर्याइने गरेको छ ।

    इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा बरिष्ठ हवल्दार राम यादव र सहायक हवल्दार शशीनन्दन पाण्डे तस्करीका सम्पूर्ण गतिविधि मिलाउने मुख्य पात्र रहेको व्यापारी स्रोतको दाबी छ । यी दुवैको दरबन्दी सिरहा र ढल्केवरमा भए पनि मधेश प्रदेशबाट बरहथवामा खटाइएको प्रहरी स्रोत बताउँछ ।

    यी घुमुवाहरूले सर्लाहीको पश्चिमी भेगमा पर्ने सम्पूर्ण अवैध कारोबारको सेटिङ मिलाउँदै आएको खुलेको छ । बरिष्ठ हवल्दार राम यादव र शशीनन्दन पाण्डेले मधेश प्रदेशको संरक्षणमा पैसा असुली गर्दै तस्करीलाई सहज बनाउँदै आएको आरोप लाग्दै आएको छ ।

    यस्तै, गडहिया क्षेत्रको सेटिङ इलाका प्रहरी कार्यालय गडहियाका इन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा प्रहरी जवान बालबिर पासवानमार्फत् सञ्चालन हुँदै आएको छ । पासवानले तस्करहरूलाई नजिकबाट सहयोग गर्दै स्कटिङसम्मको जिम्मा लिएको व्यापारीहरूको भनाइ छ ।

    तस्करीको केन्द्रबिन्दु बनेको फेनहरा, मधुवनी, बहादुरपुर, बलरा लगायतका क्षेत्रमा दर्जनौं सक्रिय तस्कर खुलेरै कारोबार गर्दै आएका छन् । नामुद तस्कर नवीन चौधरीले कवाड, कपडा, मकै, काक्रोको बीउ र काठपलाइ ‘मुना’ को नाममा कारोबार गर्दै आएका छन् । अर्का तस्कर राजेश ठाकुरले नेपालबाट भारत स्याउ पठाउने र भारतबाट मकै, पटाका, बीउ लगायत सामान नेपाल भित्र्याउने गर्छन् ।

    राजेश ठाकुरलाई गतबर्ष समयअघि जिल्ला प्रहरी कार्यालयले पटाकासहितको ट्याक्टर नियन्त्रणमा लिई नष्ट पनि गरेको थियो । त्यस्तै, बिजय यादवले स्याउ, मकै, कवाड र प्लाईउड तस्करी गर्दै आएका छन् । दिनेश चौधरीले कपडाको कारोबार पिकअपमार्फत् काठमाडौंसम्म र्पुयाउँदै आएको स्रोत बताउँछ ।

    हरिवनका सन्तोष डिलरले नेपालबाट स्याउ, मकै, काक्रोको बीउ भारत पठाउने र भारतबाट चिनी, काजु, पिस्ता, बदाम, कपडा लगायतका सामग्री ल्याउने गरेका छन् । उनी, नारायणपुर, पर्सा र त्रिभुवननगर नाकाबाट पिकअप प्रयोग गरी तस्करी गर्छन् ।

    कृष्ण यादवले धान, गहुँ, कोदो भारतबाट ल्याउने र नेपालबाट कवाड पठाउने गरेका छन् । अजय दास र अजय शहनीले पनि यही कारोबारमा संलग्न छन् । शनिबार राति ८ बजे तस्कर अजय शहनीलाई बीओपी संग्रामपुरका इन्स्पेक्टरले कपडासहित नियन्त्रणमा लिएर केही समयमै छोडिदिएको स्रोतको दाबी छ ।

    मलंगवाको राजदेवी नाकाबाट बिजय महतो सूर्ती र इलेक्ट्रोनिक सामान ल्याउँछन् । त्रिभुवननगर नाकाबाट प्रकाश यादव, इन्दल यादव, बिजय चौधरी र पर्सा नाकाबाट बिजय पुकारले कपडाको तस्करी गरिरहेका छन् । यीमध्ये केहीको घर भारतको बिहारस्थित इनर्वामा पर्छ ।

    प्रत्येक रात फेनहरा र बहादुरपुर नाकाबाट एक दर्जन भन्दा बढी पिकअपमार्फत् तस्करी हुन्छ । यस्ता सबै गतिविधिको सेटिङ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले मिलाउने गरेको स्रोतले बताएको छ । सशस्त्र प्रहरी बलका एसपी समेत उक्त सेटिङमा संलग्न भएको आरोप लागेको छ ।

    सर्लाहीका सीमावर्ती क्षेत्रहरू तस्करीको खुल्ला केन्द्र बनेका छन् । स्थानीय प्रहरी, सशस्त्र प्रहरी र प्रदेशस्तरीय अधिकारीहरूको संरक्षणमा तस्करीको सञ्जाल बलियो बन्दै गएको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार