एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत उपाधि दाबेदार बार्सिलोनाले रियल सोसिडाडविरुद्द फराकिलो जित निकालेको छ ।
आइतबार राति सोसिडाडको मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे भने एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले समान एक एक गोल गरे ।
सोसिडाडका एण्डरले रक गोल फर्काए ।
ग्रीजम्यानले ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो ।
एकतर्फी बनेको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३-० को बन्यो ।
५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५-० ले अघि रह्यो ।
खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६-१ को जित दिलाए ।
जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ भने पराजित सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।