पूजा सिंह र किरण बज्राचार्य
काठमाडौं । अख्तियार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई एसएसपीमाथि अनियमितता आरोपमा छानबिन गर्ने भएको छ । सिपाहीको टीएडीएसमेत खाने एसएसपी पूजा सिंह र बेवारिसे सब ब्यवस्थापनका लागि निकासा भएको सरकारी रकम हिनाममिना गर्ने किरण बज्राचार्यमाथि आयोगले छानबिन गरिरहेको छ । छानबिन अन्तिम चरणमा पुगिसकेकाले केही दिनमा मुद्दा दायर गर्ने तयारीमा अख्तियार रहेको स्रोतले बताएको छ ।
बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । बेवारिसे सबको लागि महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो ।
बज्राचार्य भक्तपुरको एसपी हुँदा बेवारिस सब ब्यवस्थापनको रकम हिनामिना गरेकी थिइन् । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् । उजुरी परेको ५ बर्षसम्म पनि अख्तियारले बज्राचार्यको मुद्दा दर्ता गरेको छैन ।
पूजा सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापाल धुब गौतमसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।
सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् ।
प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए मिलेर खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो । तर ६ बर्षसम्म पनि टीएडीए खाने मुख्य दोषी कमाण्डर पूजा सिंहको अनुसन्धान टुंगिन सकेको छैन । र, विशेष अदालतमा मुद्दा दायर भएको छैन । अनुसन्धान अधिकृतले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले मुद्दा दायर गरेनन् ।
यसबीचमा सिपाहीको टीएडीए खाने सिंह एसएसपी बढुवा भई डीआइजी हुने खेलमा पनि लागिन् ।
मदन पुरस्कार प्राप्त साहित्यकार डीआइजी महेशबिक्रम शाहले दुधौली तालिम केन्द्रमा गरेको रासन घोटालामा उनी बिरुद्ध २०७६ फागुन २० मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग¥यो । तर शाहको भन्दा अघि नै अनुसन्धान सकेर प्रतिवेदन बुझाएको पूजा सिंहको मुद्दा भने ६ बर्षसम्म पनि दायर भएको छैन ।
२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म सिन्धुलीको दुधौली तालिम केन्द्रको समादेशक बनेका पूर्वडीआइजी महेशविक्रम शाहबिरुद्ध तालिमे जवानको तलब हिनामिनाको आरोपमा अख्तियारले २०७६ फागुन २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शाहसँग सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । तर पूजा सिंहले २०७१ मै सिपाही हवल्दारको टीएडीए कीर्ते गरी खाएकोबारेमा प्रमाणसहित उजुरी परेर अनुसन्धान गरिसकेपछि मुद्दा दायर गरेको छैन ।
टीएडीए खाने पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । ढिलै भए पनि सिपाहीको टीएडीए समेत नछाड्ने एसएसपी सिंह र बेवारिसे सब ब्यवस्थापनका लागि दिएको बजेटसमेत हिनामिना गर्ने बज्राचार्यमाथि अख्तियारले छानबिन गरी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । विगतमा तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सिंहलाई जोगाएको आरोप लागेको थियो ।
सरुवा हुने तल्लो दर्जाका प्रहरीलाई मात्र होइन, उनीहरूका परिवारलाई समेत राज्यले टीएडीए सुविधा दिने गरेको छ । तर कतिपय इन्चार्जले सरुवा भएर जानेहरूको टीएडीए दिए पनि उनीहरूका परिवारको नदिई कीर्ते गरेर खाने गरेको पाइएको छ । सरुवा हुने प्रहरीले बाबुआमा, श्रीमती र २ सन्तानको टीएडीए पाउँछन् ।
एसएसपी सिंह र लेखापाल गौतम मिलेर टीएडीए खाएको बिषयमा अख्तियारले त्यतिबेला कार्यरत १ सय ५० जनासँग बयान लिएको थियो । सरुवा हुने तल्लो दर्जाका सिपाही हवल्दारदेखि कनिष्ट अधिकृतका परिवारको टीएडीए तत्कालीन एसपी सिंह र लेखापाल गौतमले खाएको उजुरी परेको थियो ।