काठमाडौं । नेपाल प्रहरीलाई शान्तिसुरक्षादेखि लिएर राजश्व चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मेवारी प्रदान गरिएको छ । तर नेपाल प्रहरीले त्यसविपरीत अवैध कारोबार गर्नेहरूसँग साँठगाँठ गरी आर्थिक संकलनतर्फ केन्द्रित रहेको पाइएको छ ।
पर्साका भिस्वा, बुढगाई, तिहुकी, भेडिहर्वा, जानकीटोला लगायतका नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ ।
पर्साको छिपहरमाई गाउँपालिकामा पर्ने भिस्वा प्रहरी चौकी इन्चार्ज सई प्रमोद साहले मोटो रकम बुझी तस्करी खुल्ला गरेका छन् । सई साहको आगमनपछि उक्त नाकाबाट भन्सारछलीका सामान ओसारपसारमा बृद्धि भएको छ ।
जसरी हुन्छ तस्करीलाई प्रश्रय दिने र अतिरिक्त कमाउने प्रबृत्ति सीमामा खटिएका प्रहरीमा छ । सई साहले तस्कर समूहसँग घुसको दररेट तोकेर बुझ्दै तस्करी लाइन सुचारु गरेका छन् । भिस्वाको खुल्ला सीमानाकाको फाइदा प्रहरीसँग मिलेर तस्करले उठाउने गरेका छन् । तस्करहरुले नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमा पारी नेपालबाट युनिलिभर कम्पनीको फेयर एण्ड लब्ली क्रिम, सेम्पू, क्लोजप पेस्ट लगायतका कस्मेटि, कबाड र ड्रमको तस्करी गराउँदैआएका छन् । त्यसका अलावा चाइनिज स्याउ, खुकुरी चुरोेट, पेट्रोल, डिजेल, मोटर, मरिच, छोगडा भारततर्फ तस्करी हुने गरेको छ ।
नेपाली गिट्टी, बालुवा र मदिरादेखि घरेलु रक्सीसम्मको तस्करी भइरहेको छ । भारतको सीमावर्ती शहर सिक्टाबाट अवैध रुपमा भन्सार छली रातिको समयमा इलेक्ट्रोनिक पाट्र्स, लत्ताकपडा, गाडीको पाट्र्स, हार्डवेयर, किराना आइटम, भैंसी, राँगालगायतका सामानहरु नेपालतर्फ भित्र्याउने गरेको स्थानीयको आरोप छ ।
हिन्दूहरुको महान पर्व होली नजिकिएसँगै पर्साको भिस्वा सिमानाकाबाट होलीको लागि खसीबाख्रा धमाधम भित्र्याउनुको साथै अरु तस्करी पनि अहिले व्यापक बढेको छ । रातिमात्र नभई दिउँसो पनि तस्करहरुले महिला प्रयोग गरी तस्करी गराएको एक स्थानीयले जानकारी दिएका छन् । सई साह पहिला असई हँुदा छिपहरमाई गाउँपालिकाका केही चौकीमा कार्यरत थिए । उनी पर्सा जिल्ला प्रहरीको उजुरी शाखाबाट भिस्वा आएका छन् ।
भिस्वामा हुने गरेको तस्करीबाट प्राप्त घुसको हिस्सा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलीका इन्चार्ज शोभन रानासम्म पुग्ने गरेको स्रोत बताउँछ । साहले क्राइम टोलीका इन्चार्जलाई पनि बुझाउनुपर्छ भनेर उनको नाममा समेत घुस असुली गर्दैआएका छन् ।
क्राइम टोलीको नाममा सीमाका चौकीहरुबाट उठाएर एकमुष्ट जम्मा गरी जिल्लासम्म पु¥याउने र मिलाउने कार्य प्रहरी जवान लालबाबु साहले गर्दै आएको प्रहरी स्रोत बताउँछ । पर्सा जिल्लामै घर रहेका घुमुवा प्रहरी जवान लालबाबु साह कैयौं बर्षदेखि घुमुवाको रुपमा परिचालित छन् । उनको सबै तस्करहरुसँग कनेक्सन छ । केही दिनपहिला घुमुवा साह र तस्करीको कनेक्सनका बारेमा धेरै संचारमाध्यममा उजागर भएपछि एसपी गंगा पन्तले उनलाई क्राइम टोलीबाट हटाएर सुगौली पठाएकी थिइन् । तर गंगा पन्तको सरूवा भएपछि उनी फेरि पावर लगाएर क्राइम टोलीमा आउन सफल भएका छन् ।
पन्तपछि पर्सामा आएका एसपी बेलबहादुर पाण्डेले साहलाई पुनः क्राइम टोलीमा परिचालन गरेका छन् । साहको तस्करी कनेक्सनबारेमा प्रहरीदेखि व्यापारीसम्म चर्चा चल्ने गर्दछ ।
पर्सामा एसपी पाण्डे आएपछि उनले एकातिर मातहतका चौकी इन्चार्जलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिने गरेका छन् भने अर्कोतिर क्राइम ब्रान्चमा विवादित राना र लालबाबु साहलाई राखेका छन् ।