एजेन्सी । इंग्लिस क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक शुन्यले अघिरहेको चेल्सीले थप गोल गर्न इन्जुरी समय नै कुर्नु परेको थियो । इन्जुरी समयमा इमर्सनले गोल गर्दै २-०को जित दिलाए।
चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।