Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो चरणको अभियानमा महानगरका ४८ हजारले लगाए खोप


    बुधबार, चैत्र ४ २०७७
    525
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो चरण अन्तर्रगत पहिलो प्राथमिकतामा परेका ६५ वर्ष भन्दा माथिका उमेर समूहका व्यक्तिलाई लगाउँदै आएको कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको जानकारी दिएको छ ।

    ‘दोस्रो प्राथमिकतामा परेकाहरुको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरु गर्नेछौँ,’ शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो, ‘दोस्रो चरणको फागुन २३ बाट शुरु कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ । यो अभियानमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक लगायत सम्वन्धित अस्पतालका व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ।’ 

    उहाँले यो चरणमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको पनि जानकारी दिनुभयो ।  ‘जसमध्ये २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाउनुभयो,’ कुँवरले भन्नुभयो, ‘प्राप्त तथ्याङक अनुसार सबै भन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खोप लगाउनुभयो । दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाउनुभयो ।’

     
    त्यसैगरी वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्शालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९,  इस्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र विरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।

    सबैभन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले लगाएका छन् । क्षत्रपाटी निशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुतीगृह थापाथलीमा २ हजार ९ सय ९९ ले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।  

    केही दिनअघि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रमुख शाक्यले खोपबाट कसैलाई बञ्चित गराउनु हुन्न भन्ने नेपाल सरकार र महानगरपालिकाको अभियान नै रहेको भन्दै देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र आफुले समेत खोप लगाइसकेकाले आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन प्रोत्साहन दिनुभएको थियो । 

    अनुगमनकै क्रममा उहाँले केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधिहरु सहयोगका लागि घर–दैलोमै आउने आश्वासन समेत दिनुभएको थियो ।  काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरिएको थियो । काठमाडौँ महानगरपालिकाले सबै केन्द्रमा चिया, कुकिज, फलफुल, पानी र टेण्टको व्यवस्था गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार