एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति म्याड्रिडको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो ।
जितसँगै रियल समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो ।
दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।
खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक शुन्यले अघि रहेको रियलले खेलको ६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।
खेलको ८३ औं मिनेटमा एट्लान्टाका लुइसले गोल गरेपछि खेल २(१ को स्थितिमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
यससँगै रियल ३६ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।