टीकापुर। प्रविधिको विकासले साँझ विहानको समयमा घरमा हुने पारिवारीक जमघट र घर सल्लाह घटेको छ । विगतमा सबै परिवार जम्मा भएर गरिने घर सल्लाह अहिले आएर घटेको देखिन्छ ।
नागरिकहरु मोबाइल, टेलिभिजन, कम्प्युटरजस्ता प्रविधिमा ब्यस्त रहन थालेपछि पारिवारीक सल्लाह निकै घटेको बताइन्छ । टीकापुरका लक्ष्मी शर्माको घरमा दुई वर्षअघि बेलुकाको खानापछि परिवारका सबै सदस्य बसेर रमाइला गफगाफ, दिनभरिको कामको समिक्षा हुन्थ्यो तर अचेल त्यसरी छलफल गर्ने फुर्सद कसैलाई छैन ।
‘‘हामी सबैजना कम्तीमा आधा घण्टा सँगै बसेर कुराकानी ग¥थ्र्यौँ, आजभोलि त जम्मा हुनै मुश्किल भएको छ’’, लक्ष्मीले भन्नुभयो, ‘‘घरमा इन्टरनेट जडान गरेदेखि सबै व्यस्त भए । केही कुराकानी गर्नुपरे पनि मोबाइलबाट, म्यासेजबाट गर्न थालिएको छ ।’’ लक्ष्मीकाअनुसार प्रविधिको प्रयोगले पारिवारिक दूरी बढाएको छ ।
‘‘सँगै बसेर खाना खाने समय पनि हुनथालेको छैन । छोराछोरी पनि कोठा मै लगेर मोबाइलमै खेल्दै खाना खान थालेका छन्’’, उहाँले भन्नुभयो, ‘‘आजभोलि म पनि मोबाइलमा फेसबुक चलाएरै बस्छु । सबै व्यस्त भएपछि म पनि मोबाइलमै रमाउन थालेँ ।’’
लक्ष्मीलाई यसरी सल्लाह नभए, पारिवारीक समस्या पहिचान र समस्या समाधानमा समस्या आउने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । लम्कीचुहा नगरपालिकाका धनबहादुर विकको घरमा पनि यस्तै समस्या छ ।
धनबहादुरका छोराछोरी कलेज पढ्ने उमेरका छन् । धनबहादुरका घरमा दुई छोराछोरी र उहाँको दम्पत्ती गरी चार जनाले मोबाइल चलाउँछन् । ‘‘बुवाआमा बुढा छन्, विगतमा बुबाआमाको वरीपरी बसेर खाना खान्थ्यौँ, आजभोलि त्यो छुटेको छ’’, उहाँले भन्नुभयो, ‘‘शुरुशुरुमा म फेसबुक र युटुवमा निकै रमाएँ तर आजभोलि चिन्ता बढेको छ ।
कतै छोराछोरी गलत बाटोमा लाग्ने त होइनन् भनी पिर भने बढेको छ ।’’ धनबहादुरका बुबाआमाले छोराछोरी, नातिनातीनीसँग राम्ररी गफगाफ गर्न पाएका छैनन् । प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि यसरी पारिवारीक दूरी बढ्ने गरी चलाउनु गलत हो भन्ने राम्ररी बुझे पनि रोक्न नसकेको उहाँको भनाइ छ ।
टीकापुर–१ की समिक्षा जैसी कर्मचारी हुनुहुन्छ । उहाँका छोरा नौ कक्षा पढ्दैछन् । गत वर्ष कोरोना महामारीपछि छोरालाई अनलाइन कक्षाका लागि समिक्षाले मोबाइल किनिदिनुभयो । फुर्सदमा छोरा रातदिन मोबाइलमा भुल्न थाले । समिक्षालाई पनि छोरा घरमै भुलेपछि ढुक्क भयो । ‘‘मैले त्यही मोबाइलमा इ–सेवा लिएकी थिए ।
सोझो बच्चाले केही गलत गर्ला भन्ने सोचिएन’’, उहाँले भन्नुभयो, ‘‘खातामा रहेको रकम घट्दै गयो । कसरी रकम घट्यो भनी इ–सेवामा गएर जाँच गर्दा छोराले मोबाइलमै रकम राखेर खेल्ने रहेछ भन्ने थाहा भयो ।” छोराले मोबाइलको गतल प्रयोग गरेको थाह पाएपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । ‘‘त्यसपछि पारिवारीक सल्लाह ग¥यौँ, मोबाइलमा सामाजिक सञ्जाल तथा युटुव चलाउने निश्चित समय तोक्यौँ’’, उहाँले भन्नुभयो, ‘‘यसमा नजानेरै पनि मानिस गलत प्रयोगको शिकार हुनसक्छ भनी सचेत भएका छौँ ।
’’ शिक्षक पूर्ण विक बालबालिकालाई मोबाइलजस्ता प्रविधिको प्रयोग गर्न दिँदा अभिभावक उनीहरु गलत प्रयोगको शिकार हुनसक्छन् भनी सचेत हुन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘धेरै नानीबाबु यसरी प्रविधिको गलत प्रयोग गरेर गलत बाटोमा लाग्न सक्छन्, बालविवाहको शिकार हुनसक्छन्’’, शिक्षक विक भन्नुहुन्छ, ‘‘प्रविधिको ज्ञान लिनु राम्रो हो तर यसको सही प्रयोग र गलत प्रयोगबारे पनि सिकाउनुपर्छ ।
किशोरावस्थाका नानीबाबुलाई निगरानी गर्नुपर्छ ।’’ शिक्षक विक अभिभावक आफैँ मोबाइल तथा इन्टरनेटमा भुलेमा छोराछोरीले पनि त्यही सिक्ने भएकाले अभिभावक सचेत बन्नुपर्ने सुझाव दिनुहुन्छ । समाजशास्त्री शिवचरण चौधरी प्रविधिमा हराउँदा पारिवारिक एकता एक्लिन सक्नेमा सचेत हुन जरुरी रहेको बताउनुहुन्छ ।
‘‘आर्थिक प्रगती गर्न र पारिवारीक समस्या समाधानका लागि सल्लाह आवश्यक हुन्छ । पारिवारीक सल्लाह नहुने घरमा शान्ति पनि हुँदैन’’, समाजशास्त्री चौधरी भन्नुहुन्छ, ‘‘परिवारका लागि समय व्यवस्थापन गर्न सक्नुपर्छ । प्रविधिको सही सदुपयोग गर्नु राम्रो पक्ष हो तर परिवारबाट टाढिने गरी हुने प्रयोग रोक्नुपर्छ ।’’ रासस