कैलाली,१८; बैशाख । कोरोना रोकथामको लागि लागू गरेको लकडाउनको समयमा अलपत्र परेका नेपालीको उद्घार गर्न थालेको छ । सरकारले महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु गरेको हो ।
बिहिवार बिहानबाट बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उनीहरुको उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।
‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने ।भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।
छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए ।महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् ।
क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए ।
स्थानीय तहले आवश्यक व्यवस्था गर्ने बताएपछि उनीहरुको उद्धार गरिएको हो ।