Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक आरोग्य केन्द्र सञ्चालनमा


    सोमबार, चैत्र २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नवलपुर। नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो ।

    हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा सुजाता शर्माले बताउनुभयो । हुप्सेकोट गाउँपालिका–१ मा स्थापना गरिएको केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गर्ने शर्माको भनाइ छ ।

    केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिने शर्माले जानकारी दिनुभयो ।

    “सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुइ उद्देश्य रहेका छन्”, डा शर्माले भन्नुभयो, “स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हुन् ।” परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति आझेलमा परेको भन्दै डा शर्माले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताउनुभयो ।

    आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अनकनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेका उहाँले बताउनुभयो । पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ को महामारीका क्रममा धेरै मानिसले आयुर्वेदको महत्व बुझेका डा शर्माको भनाइ छ ।

    आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उहाँले बताउनुभयो । जिल्लाका हरेक स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि काम थालिएको छ । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले पूर्वीय सभ्यतामा आयुर्वेद विषयवस्तुबारे पहिलेदेखि वर्णन गरिएको बताउनुभयो ।

    स्वस्थ रहनका लागि र रोगी अवस्थामा पनि निरोगी हुने उपायबारे हाम्रो पूर्वीय दर्शनमा उल्लेख गरिएको पाण्डेले बताउनुभयो ।

    पौराणिककालदेखि नै आयुर्वेद चिकित्साको सबै व्यवस्थापन हुँदै आएको भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्रममा आधुनिकतासँग समन्वय गरेर जाँदा पछाडि परिएको उहाँको भनाइ छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार