काठमाडौं । नेपाल वायुसेवा निगम करिब ४५ अर्ब रुपैयाँ ऋणमा छ । तर निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल कहाँबाट कमिसन आउँछ भन्दै त्यही टाट पल्टिएको संस्थामा पनि थप दोहन गर्न तल्लीन छन् । उनले हालै निगमको न्यारोबडी जहाज सी–चेकका लागि सिंगापुरको एसटी एरोस्पेसमा पठाएका छन् । एसटी एरोस्पेस कम्पनीका नेपाली एजेन्ट बीआर श्रेष्ठले ठूलै रकम कमिसन दिएर सी–चेकको लागि न्यारोबडी विमान सिंगापुर पठाउन सफल भएको श्रोत बताउछ ।
महाप्रबन्धक पौडेलले प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालको दबाबमा सिंगापुरमा सि–चेकका लागि पठाउनुपरेको बाध्यता आफ्ना निकटहरुसँग प्रकट गरेका छन् । रिमाललाई खुसी पार्नका लागि पौडेलले बीआर श्रेष्ठ एजेन्ट रहेको एसटी एरोस्पेसमा सिचेकका लागि पठाएको स्रोत बताउँछ ।

५ करोडभन्दा बढी रकम सी–चेकमा खर्च गर्न लागिएको निगम श्रोतको दाबी छ । तर निगमका महाप्रबन्धक पौडेलले २ करोडभन्दा कममा सी–चेक गर्न लागिएको बताए । उनले भने, ‘कहीँ कसैले दबाब दिएर होइन, सस्तो भएर पठाइएको हो ।’
त्यसैगरी, निगमको वाइडबडी जहाज दुई महिनादेखि ग्राउण्डेड छ । २०७७ पुस २४ मा हेभी ल्याण्डिङ गराउँदा जहाजका दुईवटा ल्याण्डिङ गियरमा गम्भीर समस्या आएको छ ।
एयरबसले ल्याण्डिङ गियर चेन्ज गर्न भनेको निगम श्रोत बताउँछ । श्रोतका अनुसार, ल्याण्डिङ गियर चेन्ज गर्न लगभग १ अर्बकै हाराहारी खर्च लाग्छ । तर निगमले २ महिनादेखि उक्त जहाज उडाउन सकेको छैन । महाप्रबन्धक पौडेलले एयरबस कम्पनीले उडाए हुन्छ भन्दा पनि आफूले नै ग्राउण्डेड गरेको बताए । एयरबस कम्पनीलाई हेभी ल्याण्डिङको सूचना लुकाएको बारेमा उनले भने यस्तो समाचार लेख्नेहरु नै फसे । हामीले तुरुन्तै सूचना दिएका हौं । ल्याण्डिङ गियर चेन्ज गर्न एयरबसले निर्देशन दिएको बारे उनले भने ‘त्यस्तो निर्देशन दिएको छैन, चलाए हुन्छ’ भनेको छ ।
जहाजमा के समस्या आएको हो एयरबस कम्पनीको निर्देशनअनुसार गर्नुपर्नेमा २ महिनादेखि थन्क्याएर निगमलाई थप घाटा पार्ने काम भएको छ । ४५ अर्ब ऋण तिर्नका लागि जहाज उडाउनुपर्नेमा ग्राउण्डेड गरेर हिमालयन एयरलाइन्सको सेवा गर्ने काम पौडेलले गरेको आरोप कर्मचारीहरुको लगाएका छन् ।
यसैगरी अपरेशन विभागका प्रमुख दीपु जुहार्चनले पाइलट तालिमका लागि पठाउँदा सिनियर पाइलटहरुलाई नपठाई आफ्नै पिता पाइलट एम बी र सौतेनी आमा एयर होस्टेज सुमेली जुहार्चनलाई समेत पठाउने काम गरेको आरोप छ ।
पाइलट तालिममा उनले बद्मासी गरेको गुनासो गर्दा पनि महाप्रबन्धक पौडेलले सुनुवाई नगरेको गुनासो छ । पौडेललाई यति एयरलाइन्सका स्व.आङछिरिङ शेर्पासँग कनेक्सन गराउने र निगममा छिराउने जुहार्चन नै भएकाले पौडेल उनका अगाडि निरीह जस्तै बनेको श्रोत बताउँछ । जुहार्चनले अहिले पनि यतिका साहु सोनाम शेर्पासँग पौडेलको कनेक्सन गराएको ठहर कर्मचारीहरुले गरेका छन् । हिमालयन एयरलाइन्सको व्यापार प्रवद्र्धनका लागि जुहार्चनले निगमका उडानमा समस्या देखाएर लाभ पु¥याउँदै आएको आरोप छ ।