एजेन्सी। म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो ।’ सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख हुन् र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।
भूमिगत रहेर नै उनले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन् । सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा गत शनिवार मात्रै म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।
सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी ९एनएलडी० की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ । गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ । यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।