काठमाडौं । सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्की र लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
इन्जीनीयर कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनका कामका लागि सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस लिएकी थिइन् ।
गंगाजमुना गाउँपालिकामा कार्यरत लेखाअधिकृत सापकोटा र इन्जिनियर कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए । लेखाअधिकृत सापकोटाको निर्देशनमा पुजा कार्कीले उक्त घुस लिएकी थिइन् । कार्की र सापकोटासँग बिगो जनही ९५ हजार नै माग गरी मुद्दा दायर गरिएको छ ।