Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमित प्रतियोगिताका माध्यमबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव


    बिहिबार, फाल्गुन २७ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ ।

    कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो । काठमाडौँ बैठकमा कामपामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई सुझावसहित स्वीकृत गरेको हो । स्वीकृत विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकास हुँदाका सर्त तथा सुविधालगायतका व्यवस्था छन् ।

    विधेयकमा समूह, सेवा परिवर्तन, पदीय आचरण, कर्मचारीले प्राप्त गर्ने सुविधा, सुरक्षा, पुरस्कार, दण्ड सजायसम्बन्धी व्यवस्था, पीरमर्का सुनुवाइ, पुनरावेदनलगायत व्यवस्था गरिएको छ । उक्त विधेयक यही फागुन २४ गते बसेको अधिवेशनको दोस्रो बैठकमा पेश गरिएको थियो । स्वीकृत ऐनबमोजिम महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी तीन समूह हुनेछन् ।

    यसैगरी सभामा दुई हजार २७२ जनशक्ति रहने दरबन्दी प्रस्ताव गरिएको थियो । यसअघि दुई हजार २५८ को दरबन्दी थियो । वडामा अधिकतम १५ र न्यूनतम नौ कर्मचारीको दरबन्दी प्रस्ताव थियो । यो ठूलो, मझौला र सानो वडाका आधारमा तय गरिएको हो ।

    यही फागुन ४ गते शुरु भएको अधिवेशनको पहिलो बैठकले ‘समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ स्वीकृत गरेको थियो । यो ऐनका आधारमा महानगरका एक हजार ५५० कर्मचारीले एक तह माथिल्लो पदमा समायोजन पत्र पाएका छन् ।

    बैठकमा प्रस्तावित विषयमा उठेका प्रश्नको उपप्रमुख हरिप्रभा खड्गी र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जवाफ दिनुभएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार