Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कामपाका एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन


    बुधबार, फाल्गुन २६ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ ।

    यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।

    समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो ।

    समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताउनुभयो । “समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ ।

    स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ”, प्रमुख शाक्यले भन्नुभयो ।

    आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राख्नुभयो ।

    यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक रु ३० लाख ५० हजार आर्थिक दायित्व थपिने छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार