काठमाडौं । एपेक्स बैंक ठगी प्रकरणमा मनोज भेटवाल पक्राउ परेका छन् । टुँडिखेल अतिक्रमण गरी सटर बनाएर भाडामा लाउने भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एपेक्स बैंकमा भएको कर्जा घोटालमा पक्राउ गरेको हो । अख्तियारले उनलाई अनुसन्धानका लागि थुनामा राखेको छ ।
पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्दैआएका भेटवालले धितोको वास्तविक मूल्याङ्कन भन्दा धेरै कर्जा लिएको आरोपमा उनीविरुद्ध यसअघि सिआइबीले मुद्दा दायर गरिसकेको छ ।
एपेक्स बैंक घोटालामा भेटवालसँगै कांग्रेस नेता विष्णु धितालका बिरुद्ध पनि मुद्दा दायर गरेका छन् । धिताल अख्तियारको मुद्दामा पनि छानबिनमा छन् । भेटवाललाई पक्राउ गरिएकोबारेमा अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी आइनसकेको बताए ।
भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दा समेत दायर भइसकेको छ । उनको कम्पनीले पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएकोमा समयभित्र काम गर्न सकेको छैन । भेटवालले भ्यूटावर निर्माण गर्ने भन्दै ब्रिटिस र सिंगापुरका लाहुरेहरुको १८ करोड रुपैयाँ समेत खाइदिएका छन् ।
बैंक ठगीदेखि विभिन्न विवादास्पद काममा मुछिएका भेटवाल प्रधानमन्त्री केपी ओलीसँग निकट हुँ भन्दै जोगिंदैआएका छन् । ओलीले गएको बैशाखमा भेटवालकै अध्यक्षतामा नेकपा एमाले दर्ता गर्न लगाएका थिए । तर उनी बदनाम पात्र भएकाले टिपेक्स लगाएर सन्ध्या तिवारीको नाम अध्यक्षमा राखिएको थियो ।