Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनकाे समयमा कृषि एम्बुलेन्स सञ्चालन


    बुधबार, बैशाख १७ २०७७
    580
    Shares
  • २ मिनेट पाठ
  • स्याङ्जा, १६ बैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन्।

    फेदीखोला गाउँपालिकाले बन्दका कारण किसानले उत्पादन गरेका तरकारीका साथै कृषिजन्य वस्तु किसानको घरघरमै पुगेर खरिद गर्ने व्यवस्था मिलाएपछि उनीहरु खुसी भएका हुन्। गाउँपालिकाले कृषि एम्बुलेन्स सन्चालन गरेपछि लकडाउनकाे समयमा पनि घरघरमा तरकारी लिन आउने गरेको छ ।

    गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीलगायतका खाद्यवस्तु बारीमै कुहिएर खेर जाने र बजारमा खाद्यवस्तुको अभाव हुने भएकाले किसानको घरघरमै पुगेर किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाएको बताए।

    वडा नं २ स्थित मुख्यमन्त्री नमूना कृषिगाउँ तल्लो कुडुलेका अध्यक्ष विष्णु सुवेदीले लकडाउनका कारण खेतबारीमै कुहिएर जान लागेको आफूहरुको तरकारी घरमै आएर पहिलेभन्दा बढी मूल्य दिएर खरिद गरेकामा खुशी लागेको बताए ।

    गाउँपालिकाले जतिसक्दो उत्पादन गर्नुस् खरिद गर्ने जिम्मा पालिकाको भयो भनेर भनेकाले थप उत्साह बढेको उनले बताए। अर्का किसान फेदीखोला–४ का छाँयादत्त पौडेलले पनि गाउँपालिकाले किसानका लागि निकै राम्रो काम गरेको बताए। पशुपालन व्यवसाय गर्दै आएका पौडेलले आफूले उत्पादन गरेको पनिर गाउँपालिकाले घरमै आएर खरिद गरेर लैजाने गरेको बताए।

    गाउँपालिकाले यसभन्दा पहिले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानले उत्पादन गरेका वस्तुलाई १० प्रतिशत अनुदान दिँदै आएको थियो। लकडाउनको शुरु भएसँगै किसानको घरघरमा पुगेर उत्पादित वस्तु खरिद गर्न थालेपछि किसान थप हर्षित भएका छन्।

    किसानले उत्पादन गरेका वस्तु ढुवानीका लागि गाउँपालिकाले दुई सवारी साधनको व्यवस्था गरिएको र किसानको घरघरबाट ल्याएका वस्तु बजारमा ल्याएर उपभोक्तालाई उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार