काठमाडौं, २० असार(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच हालै भएको वार्तापछि अमेरिकाले हुवावेमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको थियो । तर हुवावेमाथिको प्रतिबन्ध पूर्ण रुपमा नहटाइएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
ह्वाइट हाउसका अनुसार हुवावेलाई अमेरिकामा उसको फाइभ जी वायरलेस नेटवर्कको विकास तथा बजारीकरणमा लगाइएको प्रतिबन्ध कायमै रहनेछ । यद्यपि कम्प्युटर चिप लगायतका स–सना उत्पादनहरु बेच्नका लागि भने हुवावेले अनुमति पाएको छ ।
सिएनबिसी टिभीलाई दिएको अन्तरवार्ताका क्रममा ह्वाइट हाउसका व्यापारिक सल्लाहाकार पिटर नवारोले हुवावेलाई उसको फाइभ जी इन्टरनेट प्रविधिको अमेरिकामा बजारीकरण गर्नमा लगाइएको प्रतिबन्ध ट्रम्प प्रशासनले कायमै राख्नेछ ।
हुवावेको फाइभ जी प्रविधिलाई चीन सरकारले जासूसीका लागि दुरुपयोग गर्नसक्ने आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि यस्तो प्रतिबन्ध लगाएको थियो ।
ह्वाइट हाउसका व्यापारिक सल्लाहाकार नवारोका अनुसार हुवावेप्रतिको अमेरिकी नीति यथास्थितिमा कायमै छ र भविष्यमा पनि बदलिने छैन । उनले भनेका छन्, ‘हामीले हुवावेलाई यहाँ केवल चिप बेच्ने अनुमति दिएका छौँ जुन उत्पादनले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर पार्ने छैनन् । एक वर्षमा एक अर्ब डलर भन्दा कम मूल्यका चिप बेच्ने अनुमति हुवावेलाई दिइएको छ ।’
उनका अनुसार फाइभ जी प्रविधिको विकासको दौडमा अमेरिकालाई नै अग्रणी बनाउनका लागि राष्ट्रपति ट्रम्प प्रतिबद्ध छन् । यस प्रक्रियामा योगदान गर्नका लागि युरोपमा नोकिया तथा एरिक्सन जस्ता कम्पनीहरु सँग उनले सम्बन्ध विस्तार गर्दैछन् ।
तथापि युरोपमा हाल हुवावे निकै लोकप्रिय बनिरहेको छ र फाइभ जी वायरलेस नेटवर्कमा आफ्नो प्रभुत्व कायम राख्नका लागि भैरहेको दौडमा सबैभन्दा अगाडि रहेको छ ।