काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट अधिकारीहरुले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण सुरु नहुँदै भ्रष्टाचारको तानाबाना बुन्न थालेका छन् ।
प्राधिकरणका सबै आयोजनाका प्रमुख भएर घोटालामा मुछिएका प्रदीप अधिकारीले निजगढ विमानस्थल निर्माण प्रक्रियामा ठूलो आर्थिक चलखेल गरेको खुलासा भएको छ । विमानस्थलको गुरुयोजना निर्माण परामर्शदाता छनोटमा ‘एरोडरोम सेफ्टी स्ट्यान्डर्डस डिपार्टमेन्ट’मा दरबन्दी रहे पनि शक्तिकेन्द्र धाएर राष्ट्रिय गौरव आयोजनाको प्रमुखका रुपमा काजमा रहेका प्रदीप अधिकारीकै संलग्नतामा अनियमितता भएको हो ।
गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा कार्यालयको मापदण्ड अनुसार मूल्याङ्कनमा उच्च स्थान पाएको कम्पनीलाई पाखा लगाएर प्रमुख अधिकारीले कम मूल्याङ्कन भएको कम्पनीलाई छनोट गरेको पाइएको छ । सो क्रममा उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । गएको माघ ७ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ‘सी ०२२५८९’ रहेको छ ।
गत ५ जनवरी २०२० मा अन्तराष्ट्रिय आवेदन माग भए अनुसार आवेदन परेका विभिन्न ६ कम्पनीहरुमध्येबाट तोकिएको मापदण्डका आधारमा तीन कम्पनीहरु छनोट गरिएको थियो ।
छनोटको अन्तिम चरणमा NACO-PUMORI कम्पनीले सबै भन्दा बढी ७७ अंक पाएको थियो । अर्को ऋन् CG-INFRATA-BDA JV CG-INFRATA-BDA JV ले ५७ अंक पाएको थियो । त्यस्तै, DORSCH-SITARA ले ५४ अंक पाएको थियो ।
सबै भन्दा बढी ७७ अंक NACO-PUMORI कम्पनीले पाएपनि काम भने ५७ अंक मात्रै पाएको ऋन् CG-INFRATA-BDA JV कम्पनीले पाएको छ ।
छनोट हुनका लागि न्युनतम ६० अंक भन्दा माथि सबैभन्दा बढी ल्याउने कम्पनी हुनुपर्ने मापदण्ड रहेको छ । तर, मापदण्डकै धज्जी उड्ने गरी पास नम्बर समेत नपाएको कम्पनीलाई कामको जिम्मा दिनुले परियोजनाकै बेइज्जती भएको भन्दै विरोध भएको छ । कम मूल्याङ्कन पाएको कम्पनीलाई नम्बर थप गरेर छनोट गर्ने प्रमुख अधिकारीको चलखेलका कारण नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले समेत चुपचाप छन् । मन्त्रालयदेखि प्रधानमन्त्रीका सल्लाहकार र अख्तियारसम्म पहुँच देखाउँदै प्रदीप अधिकारीले प्राधिकरणका ठेक्कामा आफूलाई कमिसन दिनेलाई मात्र दिने, प्राविधिक मूल्यांकनमा बढी नम्बर दिने गरेका छन् ।
कन्सलटेन्सी र कन्ष्ट्रक्सन दुवैमा प्रदीप अधिकारीसँग सेटिंग नहुने ठेकेदारले कुनै पनि आयोजनाको ठेक्का पाउन सम्भव छैन, प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, विषयविज्ञता भए डीजी पोखरेलको सोझोपनको फाइदा उठाउँदै अधिकारीले क्यानलाई दुरुपयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
प्रमुख अधिकारीले बिड गरिएको रकमको ३० प्रतिशतसम्म खुलेआम पैसा माग्ने गरेको कम्पनीहरुले सूचना दिएका छन् । श्रोतका अनुसार उनले विभागीय मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई समेत भाग पुर्याउनु पर्छ भन्दै पैसा माग्ने गरेका छन् । उनले मन्त्रीलाई कोट, बेल्ट, टाई र जुत्ता समेत आफूले किनिदिनुपर्ने भन्दै राष्ट्रिय गौरवका आयोजनाका ठेकेदार तथा परामर्शदाता कम्पनीहरुबाट हाकाहाकी पैसा उठाउने गरेको स्रोतले जानकारी दिएको छ । उनी हरेक मन्त्रीलाई आफूले यति रकम दिएको हुँ, अख्तियारका पनि केही सहसचिव र सचिवलाई नियमित रकम दिने गरेको खुलेआम ठेकेदार र परामर्शदाताहरुसँग भन्ने गरेका छन् ।
प्रदीप अधिकारी १० औं तहबाट जुन दरबन्दीमा बढुवा भएका हुन् त्यो दरबन्दीअनुसारको जिम्मेवारी उनलाई दिइएको छैन । उनी ११ औं तहमा बढुवा हुँदा एरोड्रोम सेफ्टी ट्यान्डर्ड डिपार्टमेन्टको पदमा भएका हुन् । जसको काम रेगुलेसन र अडिट हो । तर उनलाई राष्ट्रिय गौरबका(निजगढ, भैरहवा र पोखरा) विमानस्थल आयोजनाको प्रमुखको जिम्मेवारी दिइयो । ध्रुव भोछिभयाको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधनपछि इन्जीनीयरिङ कार्यको जिम्मा पनि उनैलाई दिइएको छ । जबकि भोछिभयाको निधनपछि मुरारी भण्डारीलाई इन्जीनीयरीङ डिपार्टमेन्टको प्रमुखको जिम्मेवारी दिनुपर्ने थियो ।