Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्याको २० दिनपछि अपराधी सार्वजनिक, जो आफै शव खोज्न सक्रिय थिए


    बिहिबार, फाल्गुन २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गुल्मी । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ ।

    रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रहरीले हत्याको कारण भने खुलाएको छैन ।

    सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो । लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोज तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए ।

    पछि उनैले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापमा लालबहादुरमाथि गरिएको अनुसन्धानबाट हत्या उनले नै गरेको निष्कर्षमा पुगेको डीएसपी पाण्डेको भनाइ छ ।

    अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार