रौतहट । नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरुले सिभिल ड्रेसमा घुमुवा राखी अतिरिक्त आम्दानी गर्ने गरेको विषय सधै विवादमा पर्ने गर्दछ । नेपाल प्रहरीमा हरेक आईजीपीले पदबहाली गर्ने बेलामा घुमुवा राख्ने प्रथा हटाउछु भन्छन्, तर कहिल्यै हट्न सकेको छैन । उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा तत्कालीन डीआईजी विज्ञानराज शर्माले घुमुवा अपरेशन सुरु गरी तराईका जिल्लाबाट पहाडमा सरुवा गरियो । तर त्यो सरुवा धेरै लामो समय हुन सकेन ।
जो–जो पहाडमा सरुवा भएका थिए ती पुनः तत्तत् जिल्लामा फर्किन सफल भए । लामो समय घुमुवा बसी तराईका जिल्लामा सीमा क्षेत्रबाट तस्करी गराउने र लागुऔषध कारोबारीहरुसँग कनेक्सन गरी अतिरिक्त लाभ लिनेहरु पुनः साविककै ठाउँमा फर्किएका थिए । यसरी घुमुवा राखेर अतिरिक्त आम्दानी गर्ने क्रम अहिले पनि हट्न सकेको छैन, बरु बढेको छ ।
यसै क्रममा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले १ नम्बर प्रदेश प्रहरी सशस्त्र गण रानी मोरङको दरबन्दी भएका असई हरेन्द्र ठाकुरलाई केही दिनअघि काज सरुवा गरी घुमुवाका रुपमा परिचालन गरेका छन् । ठाकुर लामो समयदेखि २ नम्बर प्रदेशका रौतहट, बारा, पर्सा, सर्लाही, धनुषा जिल्लामा बसी प्रहरी हकिमका लाग अतिरिक्त आम्दानी गराउने अनुभवी घुमुवा हुन् । उनलाई पूर्व आईजीपी प्रकाश अर्यालले तत्कालीन मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाको डिआईजी हुँदा घुमुवा राखी अतिरिक्त आम्दानीका लागि क्षेत्रभरी परिचालन गरेका थिए ।
यद्यपि अर्यालले उनलाई अत्यन्त गोप्यरुपमा परिचालन गरेकाले उनको कार्यकालमा यो कुरा बाहिर आउन सकेको थिएन । अर्याल आईजीपी भएपछि पनि ठाकुरलाई तराईका जिल्लामा केन्द्रबाटै खटाएका थिए । सर्वेन्द्र खनाल आईजीपी भएपछि उनका अतिनिकट सई विजय यादवले ठाकुरलाई तराईबाट सरुवा गरे । त्यस बिचमा उनी असईमा बढुवा भए । बढुवा भएपछि उनलाई विजय यादवले विराटनगरको रानीमै सरुवा गरेका थिए । विजय यादवसँग उनको सेटिङ नचल्ने भएकाले रानीमा पठाइएको थियो । उनलाई अहिले पुनः रौतहटमा ल्याएर घुमुवा राखिएको छ । उनको टोलीमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सीआरभी दरबन्दी भएका हवल्दार सुरेन्द्र चौधरीलाई राखिएको छ । उनी १० वर्षदेखि नै काजमा रौतहटमा हाकिमको घुमुवा छन् ।
ठाकुरको नेतृत्वमा एसपी शाहले रौतहटमा घुमुवा परिचालन गरी सीमा क्षेत्रबाट हुने तस्करीदेखि विभिन्न कारोबारीहरुसँग अतिरिक्त रकम उठाउने जिम्मा दिएका छन् ।
यसैगरी, मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरले अजय पटेललाई घुमुवाका रुपमा परिचालन गरेका छन् । पर्साको एसपी हुँदा पनि राठौरले पटेललाई परिचालन गरेका थिए । पर्सामा विवादमा परेपछि एसपी राठौर ८ महिनामै तानिएका थिए भने उनीसँगै उनले राखेका घुमुवा अजय पटेल पनि तानिएका थिए । अहिले मकवानपुर सरुवा हुनासाथ एसपी राठौरले पर्सामा परिचालन गरेका तिनै घुमुवा पटेललाई ल्याएका छन् ।
राठौर जुन जिल्लामा सरुवा भएर जान्छन्, त्यो जिल्लामा आफ्ना विश्वासपात्रहरुलाई पनि सँगै लिएर जाने गरेका छन् । उनी पर्सामा जाँदा अपराध अनुसन्धान महाशाखामा सँगै काम गरेका र अतिरिक्त रकम असुलीमा तारंगत सिपाही सुरेन्द्रबहादुर कार्की, सई विदुर सिवाकोटी र इन्स्पेक्टर असरफ अली अन्सारीलाई लगेका थिए ।
अहिले सिवाकोटी र अन्सारीलाई उनले लगेका छैनन् । तर पटेललाई लगेर परिचालन गरिसकेका छन् । राठौरले प्रदेश राजधानी रहेको हेटौंडामा बेलुका ९ बजेदेखि नै रेस्टुरेन्ट र होटल बन्द गर्न प्रहरी टोली पठाउने गरेका छन् । काठमाडौंको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र काठमाडौं परिसरमा एसपीका रुपमा कार्य गरेका उनले ठमेलमा राति ३ बजेसम्म होटल, रेस्टुरेन्ट र डिस्को खोल्न दिएकै थिए । तर हेटौंडामा जानासाथ उनले रात्रीकालीन व्यवसायमा धावा बोलेर मोलमोलाई सुरु गरेको आरोप छ ।
यसैक्रममा पर्साका एसपी बेलबहादुर पाण्डेले बद्नाम घुमुवा सई कमल परियारलाई क्राइम ब्रान्चमा ल्याएका छन् । परियार चितवनमा हुँदा हरेक एसपीका घुमुवा थिए । उनी असुलीमा अनुभवी भएकाले पाण्डेले पर्सामा क्राइम ब्रान्चमा राखी अतिरिक्त असुलीमा परिचालन गरेको आरोप लागेको छ । सोमबारको साँघु साप्ताहिकबाट